जनकपुरधाम | मधेस सरकारले बलात्कार मुद्दामा आजिवन कारावासको सजाय पाएका भारतीय बाबाको नाममा आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गरेको छ। मधेस सरकारको खेलकुद तथा समाज कल्याण मन्त्रालयले १६ वर्षीया बालिकाको बलात्कार मुद्दामा दोषी ठहर हुँदै आजिवन कारावासको सजाय पाएका आशाराम बापूको नाममा ३० लाख रकम विनियोजन गरेको हो।
खेलकुद मन्त्रालयले छुट्टा छुट्टै दुई वटा योजनामा १५।१५ लाख गरी ३० लाख विनियोजन गरेको हो। मन्त्रालयले जनकपुर उपमहानगरपालिका १९ मा संत श्री आशाराम बापु योग वेदान्त सेवा समितिको नयाँ तथा अधुरो भवनको कामको स्तरोन्नती शिर्षकमा १५ लाख छुट्टयाएको छ।
यस्तै, खेलकुद मन्त्रालय मातहत रहेको सामाजिक विकास इकाइ कार्यालय, जनकपुरधाम, धनुषा मातहत धनुषा जनकपुर उपमहानगरपालिका वडा नं। १९ संत श्री आशारामजी बापु योग वेदान्त सेवा समितिको नयाँ तथा अधुरो भवनको कामको स्तरउन्नति शिर्षकमा १५ लाख गरी ३० लाख रकम विनियोजन गरेको हो।
खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जैसवालले आशाराम बापूकै नाममा योजना हाल्न नमिल्ने बताए। उनले विवादित बाबाको नाममा बजेट विनियोजन गर्न नमिल्ने भन्दै भने, ‘आशाराम बापूकै नाममा मिल्दैन कुनै संस्थाहरु कसैको नाममा दर्ता भएको छ भने कसैले मागेको होला। मलाई पनि यसको सम्झना भएन। सबै हामीले पनि हाल्ने होइन्। त्यस्तो योजना छ भने चल्दैन। चलाउनुपनि हुँदैन्।’
मधेस सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ को लागि ४६ अर्ब ९८ करोढ ३३ लाख ५१ हजार बराबरको बजेट ल्याएको छ। बजेट ल्याएको १० दिनपछि असार ११ गते बैठक बसेपनि त्यसपछि बैठक अनिश्चितकालका लागि स्थगित भएको हो। बजेट ल्याएपछि बसेको पहिलो बैठक २३ मिनेट २१ सेकेन्ड मात्र चल्न सकेको थियो।