वीरगंज | पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू नेकपा (एमाले) को सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी छन्। लामो समयदेखिको राजनीतिक भविष्यबारेको अड्कलबाजीलाई अन्त्य गर्दै उनले पार्टी सदस्यता नवीकरण गरेर पुनः एमालेको राजनीतिक यात्रामा जोडिएको बताएकी हुन्।
शनिबार जननेता मदन भण्डारीको ७४ औं जन्मजयन्तीको अवसरमा काठमाडौंको राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेकी हुन्। ‘फरक ढङ्गको राजनीतिक जिम्मेवारीबाट मुक्त भएपछि नेकपा (एमाले) मै रहेर पार्टीको राजनीतिक यात्रालाई निरन्तरता दिने पवित्र उद्देश्यका साथ मैले पार्टी सदस्यता नवीकरण गरेको छु,’ उनले भनिन्, ‘अब म नेकपा (एमाले) परिवारको एक सदस्यको रूपमा पुनः जोडिएको छु र यसमा म गर्व गर्दछु।’
आफ्नो कुनै विशिष्ट महत्वाकांक्षा नरहेको स्पष्ट पार्दै उनले देश र जनताको हित नै आफ्नो एकमात्र लक्ष्य भएको बताइन्। जननेता मदन भण्डारीको ‘राजनीतिमा थकाई भन्ने शब्दावली हुँदैन’ भन्ने भनाइलाई स्मरण गर्दै उनले सोही आदर्शमा समर्पित रहने प्रतिबद्धता व्यक्त गरिन्।