काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले वर्तमान सरकार देशको सम्पत्ति लुटेर विदेश पुर्याउने भगौडा दलालहरुको पक्षधर भएको आरोप लगाएका छन् । प्रतिनिधिसभाको आज (शनिबार) बसेको बैठकमा बजेटमाथिको मन्त्रालयगत छलफलमा भाग लिने क्रममा उनले यस्तो आरोप लगाएका हुन् ।
उनले भने,‘नेपालमा दुई किसिमका जनता छन् । एउटा विदेशमा कमाएर नेपाल ल्याउँछन् । अर्को नेपालमा लुटेर विदेश लैजान्छन् । वर्तमान सरकार कुन जनताको पक्षधर हो ? नेपाललाई लुटेर विदेश लैजाने दलाल र भगौडाहरुको पक्षधर हो कि ? नेपालकोलागि मर्ने र लड्नेहरुको पक्षधर हो ? आज सरकारको कार्यक्रम र बजेट हेर्दा यो सरकार देशमा लुटेर विदेश पुर्याउने भगौडा दलालहरुको पक्षधर देखिन्छ ।’
उनले विदेशमा नेपाल र नेपाली जनताको लागि काम गरेकाहरु ठगिएको भन्दै चिन्ता व्यक्त गरे । उनले भने,‘आज नेपालको लागि मर्नेहरु झनै प्रताडित भएका छन् । उनीहरु ठगिएका छन् । तिनीहरु रूनुपरेको स्थिति छ । विदेशमा गएकाहरुको लागि तपाईंहरुले के गर्नुभयो ? उनीहरु आज मरिरहेका छन्, के गर्नुभयो ? दिनको तीन÷चार वटा लाश आउँछ । युवाहरुको लाश आउँछ । तिनीहरुको बचाउको लागि के गर्नुभयो ?’ नेपालबाट मेडिकल टेष्टमा पास भएर गएका होनाहोर युवाहरु आज विदेशी भूमिमा ज्यान गुमाउन बाध्य भएको भन्दै यसप्रति सरकार संवेदनशील हुन नसकेको साहको आरोप छ ।
सरकारले नै डिमाण्ड स्विकृत र श्रम स्विकृत गरेपछिमात्रै युवाहरु रोजगारीको लागि विदेश जानसक्ने भएपनि प्रधानमन्त्री केपी शर्मा ओलीले युवाहरुको बारेमा प्रश्न सोध्दा हामी मेनपावर व्यवसायी हो र ? भन्दै प्रश्नबाट पन्छिएको विषयमा पनि साहले गम्भीर आलोचना गरे । उनले भने,‘तपाईंहरुकै डिमाण्ड स्विकृत र श्रम स्विकृतबाट होईन हाम्रा युवाहरु श्रम गन्त्वय मुलुकमा पुगेको ? तर तपाईंको सरकारको प्रमुखले भन्नुहुन्छ हामी मेनपावर व्यवसायी होईन भनेर । सरकारको छापबिना कोही माइकालाल विदेश जान सक्छ ? यदि सक्दैन भने सरकारले त्यसको नैतिक जिम्मेवारी लिनुपर्छ कि पर्दैन ?’
फ्रि–भिसा र फ्रि–टिकटको नाममा अहिलेपनि युवाहरु ठगिएको भन्दै यो बेथिति रोक्न सरकारले कुनै पहल नगरेकोमा पनि साहले आलोचना गरे । उनले भने,‘आज दिनादिनु युवाहरु ठगिएका छन्। फ्रि–भिसा र फ्रि–टिकट भनिएको छ, तर वैदेशिक रोजगारीको नाममा दिनदिनै गाउँमा एजेन्टहरु पुगेका छन्, यो ठगी निरुत्साहित गर्नुपर्ने होईन ? वैदेशिक रोजगारमा ठगिएकाहरुलाई न्याय दिनुपर्छ । ठगी मुद्दा सरकारवादी मुद्दा होईन र ? सरकारले आफ्नो दायित्व पूरा गरेको छैन् । गरिबहरुलाई रुवाएर लुटेर विदेश पुर्याउने काम भएको छ । यसको अन्त्य हुनुपर्छ ।’
उनले सरकारले गरिब, निमुखा जनताका छोराछोरीलाई सरकारी जागिरमा बाटो छेकेको र स्थायी बनाउन गम्भीर नभएकोमा पनि आपत्ति जनाए । उनले श्रेणीविहीन कर्मचारीहरुको सेवा भरमग्दुर लिने गरेको तर उनीहरुको वृत्तिविकास र स्थायीको लागि कुनै पहल नगरेकोमा आलोचना गरे । उनले भने,‘सरकारी स्थायी जागिरमा गरिबका छोराछोरी आउनै हुँदैन । माथिल्लो पोष्टमा काम गर्नेहरु स्थायी हुनुपर्ने ? अनि तल्लो तहमा काम गर्नेहरु तड्पिनुपर्ने ? सवारीचालकको जीवन जीवन होईन ? त्यसले पेन्सन पाउनुहुँदैन् । उसको पनि वृत्तिविकास हुनुपर्दैन र ? तपाईंहरुलाई स्वादिष्ट परिकार खुवाउने ती भान्सेहरु स्थायी हुनुपर्दैन ? गरिबलाई ताला लगाईदिने, गरिब त स्थायी हुनुैहुँदैन है ? शासक स्थायी हुनुपर्छ । राज गर्नुपर्ने, अनि मरेपछि पनि सुविधा पाउनुपर्छ । गरिबले केही पाउनुहुँदैन ? नैतिकता खोई ?’
पूर्वमन्त्री साहले निजामती विद्येयकमा राखिएको २ वर्षे कुलिङ पिरियडको बहस चलिरहेको भन्दै अहिलेसम्म कसैले पनि श्रेणीविहीनहरुको भविष्यको लागि नसोचेकोमा गम्भीर चिन्ता व्यक्त गरे । उनले थपे,‘अहिले कुलिङ पिरियडको बहस छ । हाईलेभल कर्मचारीहरु, सचिवहरुलाई आफ्नो रिटार्यड भएपछिको जीवनको चिन्ता छ । तपाईंहरुको कुकर्मको कारण ती नागरिक गरिब भए, उसले पढ्न पाएन । जसको काम तपाईं गराउनुहुन्छ, कि तपाईंहरुलाई सवारीचालक चाहिएको छैन ? माली चाहिएको छैन ? स्विपर चाहिएको छैन ?तपाईंहरु कार्यालयमा बसेर पिसाब गर्नेले सुविधा पाउनुपर्ने तर त्यसलाई सफा गर्नेले सुविधा पाउनुहुँदैन ? यो अत्याचार होईन भने के हो ? यो सरकार कुन वर्गको हो ?’
उनले आज करोडौं मान्छे देशमा तड्पिरहँदा र करोडौं मान्छे विदेशमा मरिरहँदा त्यसको बारेमा आवाज उठाउन नसकेको भन्दै सरकारको आलोचना गरे । उनले भने,‘ती नागरिकको विषयमा एक अक्षर लेख्न नसक्ने ? लुटेरा वर्ग, दुनियाँमाथि राज गर्ने र लुटेको पैसा नेपालमा नराख्ने विदेशमा पुर्याईहाल्ने तीनीहरुको बारेमा बहस गरिराख्ने स्थितिको अन्त्य हुनुपर्छ ।’
सो क्रममा साहले गत वर्षको बाढी÷पहिरोबाट भएका क्षतिग्रस्त संरचना अझै नबनेको र अहिलेको बजेट तथा कार्यक्रम हेर्दा अझै बन्न नसक्ने टिप्पणी गरे । उनले भने,‘ती बाढीले क्षति भएका हाम्रा संरचना कहिले बन्ने हो ? अहिलेको रेडबुक हेर्दा यसले पूनःसंरचना हुँदैन । पहाडको पानीले तराई क्षेत्रका बाँध, तटबन्धमा ठूलो असर पर्दै आएको छ, ती कसले बनाउने ?’ साहले क्रमागत योजना काटिएकोमा चिन्ता व्यक्त गरे । खानेपानीको समस्या अहिलेपनि उस्तै रहेको भन्दै नागरिकले शुद्ध पानी कहिले पाउने ? भनेर प्रश्न राखे । उनले काठमाडौंको सुकुम्बासी बस्तीमा खानेपानी नदिएकोमा आक्रोश पोखे । उनले भने,‘कि गरिबको ट्याक्स लिँदैनौं भन्नुहोस, उनीहरुको श्रम चाहिँदै भन्नुहोस, वा चुनावमा भोट लिँदैनौं भन्नुहोस, होईन उनीहरुसँग कर लिनुहुन्छ, श्रम चाहिन्छ र भोट पनि चाहिन्छ भने खानेपानी दिनुहोस न । यसरी मानवताविरोधी अपराध गर्न मिल्छ ?’
सांसद साहले एकीकृत सेवा केन्द्र के आधारमा बनानिएको भन्दै गृहमन्त्री रमेश लेखसँग प्रश्न गरे । उनले भने,‘म माननीय गृहमन्त्रीज्यूलाई सोध्न चाहन्छु–सेवा केन्द्र के आधारमा बनाउनुहुन्छ ? रौतहटको कटहरिया किन सेवा केन्द्र भएन ?’ सिमा सुरक्षाको नामा खटाईएका प्रहरी लुट्न बसेको भन्दै उनीहरुको भूमिकामाथि पनि साहले प्रश्न उठाए ।
स्वस्थ्य निःशुल्क भनिएको र १०० थरी औषधी निःशल्क भनिएको भएपनि त्यो सुविधा गरिब तथा निमुखा जनताले पाउनै नसकेको साहको गुनासो छ । उनले भने,‘एक सय थरी औषधी निःशुल्क पाउँछ भनिएको छ, त्यो औषधी कहाँ पाउँछ ? म सोध्न चाहन्छु । पायो भने पनि सायद मन्त्रीजीहरुको घरमा पाउँछ होला । सरकारी अस्पतालमा गरिबले पालो नै पाउँदैन, पायो भने कुनै सुविधा नै पाउँदैन । यस्तै बेथितिको निर्माण गर्न सरकार बनाएको हो र ?’ उनले विश्वविद्यालयको आम्दानी, सरकारी कलेज र सामूदायिक विद्यालयका आम्दानीलाई लुटको अड्डा बनाउने काम भएको आरोप लगाए ।