बीरगञ्ज । कृष्ण श्रीवास्तव । ११औं अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा भारतकाे महावाणिज्य दूतावास, बीरगञ्जद्वारा शंकराचार्य गेटमा विशेष योग कार्यक्रम सम्पन्न गरिएको छ। जुन २१ मा आयोजना गरिएको सो कार्यक्रम दूतावासद्वारा सञ्चालन गरिएका योग दिवस सम्बन्धी श्रृंखलाका कार्यक्रमहरूको समापन समारोहसमेत हो।
नेपाल–भारत सीमाको ठीक छेउ र नेपाल प्रवेशद्वारको रूपमा चिनिने शंकराचार्य गेटमा आयोजित कार्यक्रममा मधेश प्रदेशका मुख्यमन्त्री माननीय सतीश कुमार सिंह प्रमुख अतिथि तथा मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद कुमार जयसवाल विशिष्ट अतिथि रहनुभएको थियो।
कार्यक्रममा भूतपूर्व मन्त्री, सरकारी उच्च अधिकारी, पतञ्जलि योग समितिका सदस्य, नेपाल–भारत मैत्री संघका प्रतिनिधि, नागरिक समाजका अगुवा लगायत सयौंको सहभागिता रहेको थियो।
मुख्यमन्त्री सिंहले सम्बोधन गर्दै नियमित योग अभ्यासले दीर्घकालीन रूपमा स्वस्थ जीवन बिताउन सकिने धारणा राख्नुभयो। उहाँले योगलाई सबै प्रकारका रोग र मानसिक तनावको असरकारक औषधिको रूपमा लिनुपर्नेमा जोड दिनुभयो। मन्त्री जयसवालले योगले शारीरिक र मानसिक स्वास्थ्यमा सकारात्मक प्रभाव पार्ने भएकाले सबै उमेर समूह, पेसा र लिङ्गका व्यक्तिले दैनिक योग गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो।
भारतका महावाणिज्यदूत देवी सहाय मीनाले २०१४ मा संयुक्त राष्ट्रसंघको महासभाले नेपालसहित १७७ सदस्य राष्ट्रको सहप्रस्तावमा अन्तर्राष्ट्रिय योग दिवस घोषणा गरेको जानकारी दिनुभयो। उहाँले यस वर्षको नाराः “एक पृथ्वी, एक स्वास्थ्यको लागि योग” को सन्देश मानवजाति र पृथ्वीको समग्र कल्याणका लागि अत्यन्तै सान्दर्भिक रहेको उल्लेख गर्नुभयो।
कार्यक्रमको समापनमा सहभागी सबैलाई योगलाई जीवनशैलीमा आत्मसात् गर्न र स्वास्थ्यप्रति सचेत रहन आग्रह गरिएको थियो।