काठमाडौँ – पत्रकार दिलभूषण पाठकको मुद्दामा उच्च अदालत पाटनमा बिहीबार सुनुवाइ सकिएको छ। आदेश साँझसम्म आउने स्रोतले जानकारी दिएको छ। साइबर कसुरमा जिल्ला अदालत काठमाडौको अनुमतिमा जारी भएको पक्राउ पुर्जी रोक्न माग गर्दै पाठकले दिएको निषेधाज्ञाको निवेदनमा सुनुवाइ गर्दै उच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। न्यायाधीश ऋषि राजभण्डारीको इजलासले अन्तरिम आदेशबारे छलफल गर्न दुवै पक्षलाई असार ५ गते उपस्थित हुन भनेबमोजिम बिहीबार दुवै पक्ष छलफलका लागि उपस्थित भएका हुन्।
उच्च अदालतका न्यायाधीशद्वय टंक गुरुङ र टीकाराम आचार्यको इजलासमा दुवै पक्षले आफ्ना भनाइ राखेका हुन्। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका छोरा जयवीरले हिल्टन होटल खरिद गरेको भन्ने सामग्री युट्युब च्यानलमार्फत प्रसारण गरेपछि पाठकविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो।
पाठकले निराधार कपोकल्पित ढंगले आफ्नो चरित्र हत्या गर्ने नियतका साथ सामग्री बनाएर युट्युबमा अपलोड गरेको भन्दै जयवीरले दिएको उजुरीका आधारमा साइबर ब्युरोले उनीमाथि पक्राउ पूर्जी जारी गरेको थियो। उच्च अदालतले उनलाई असार ५ गतेसम्म नपक्रन अल्पकालीन अन्तरिम आदेश दिएको थियो।