वीरगंज | राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा ७ असारमा सार्वजनिक गर्ने घोषणा गरेको भए पनि असम्भव भएको छ । बोर्डका अनुसार तोकिएको मितिभन्दा अझै एक सातापछाडि अर्थात् १५ असारसम्म नतिजा प्रकाशन भैसक्नेछ । यस वर्ष बोर्डले पहिलोपटक परीक्षाअघि नै नतिजा प्रकाशनको मिति सार्वजनिक गरेको थियो ।
वैशाख महिनामा झन्डै एक महिनासम्म चलेको शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भएकाले नतिजा समयमा आउन नसक्ने स्थिति बनेको बोर्ड अध्यक्ष महाश्रम शर्माले बताए । ‘घोषित मितिमा नतिजा आउन सक्दैन,’ अध्यक्ष शर्माले भने, ‘किनभने शिक्षक आन्दोलनका कारण उत्तरपुस्तिका परीक्षण ढिलो सुरु भयो, जसको असर नतिजा प्रकाशनमा परेको छ ।’
उनका अनुसार अहिले पनि विभिन्न प्रदेशबाट प्राप्त उत्तरपुस्तिकाको तथ्यांक अध्यावधिक गर्ने काम बाँकी रहेकाले नतिजा प्रकाशित गर्न अझै केही समय लाग्नेछ । ‘परीक्षण सकिए पनि अन्य थुप्रै प्रक्रिया र प्राविधिक काम हुन्छन् । हाल तथ्यांक अध्यावधिक गर्ने काम जारी छ,’ उनले भने, ‘करिब एक महिनाअघि नै कापी परीक्षण सकिए पनि त्यसलाई प्रोसेसिङ गर्ने, डेटा इन्ट्री गर्ने कार्यमा समय लागेको छ ।’ उनका अनुसार अध्यावधिक गर्दा ३६ लाखवटा तथ्यांक राख्नुपर्ने हुन्छ । अझ त्यसलाई प्रमाणीकरण गर्दा दोहोर्याउनुपर्छ । सोही कारण अध्यावधिकको काममा समय लाग्ने शर्माले बताए ।
गत ७ चैत्रदेखि सुरु भएको एसइई परीक्षामा पाँच लाख १४ हजार ७१ विद्यार्थी सहभागी भएका थिए । देशभरका दुई हजार ८० केन्द्रमा परीक्षा सञ्चालन भएको थियो । यसपटक परीक्षा व्यवस्थित बनाउन प्रत्येक केन्द्रमा २५० विद्यार्थी राखिएकोसमेत थियो । परीक्षा केन्द्रमध्ये एउटा जापानमा र दुईवटा कारागार (केन्द्रीय कारागार र दैलेख कारागार)बाट सञ्चालन भएको थियो । ती सबै केन्द्रको नजिता एकैपटक आउनेछ । एसइई तथा कक्षा १२ को परीक्षाको नतिजा बोर्डले समयमै नतिजा समयमै सार्वजनिक नगर्दा विद्यार्थीहरू अन्योलता हुने गरेको छ । यसपटकदेखि अन्योलता हटाउने घोषणा गरिए पनि व्यवहारमा लागू हुन सकेन ।