काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले चार वर्षको समय सीमाभित्रै पार्टीको महाधिवेशन हुनुपर्ने बताएका छन् । उनले सयमयमै महाधिवेशन किन हुँदैन भन्दै पार्टी पदाधिकारीसँग जवाफ मागेका छन् ।
शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले मंसिरमा पार्टी महाधिवेशन गर्नबाट पछि हटेको आरोप लगाउँदै यसबारे पार्टी पदाधिकारीको जवाफ माग गरेका हुन् ।
उनले नेपाली कांग्रेसको विधानमा महाधिवेशन चार वर्षमा गर्नुपर्ने प्रावधान रहेको स्मरण गराए । यसपटक के कारण महाधिवेशन गर्न रोकियो भन्दै प्रश्न गरे ।
महाधिवेशन रोक्नुपर्ने कारणबारे कार्यकर्ताहले नेतृत्वसँग प्रश्न गर्न सक्नुपर्नेमा उनको जोड छ ।
सत्ताको चाबी कांग्रेसले बोक्नुपर्छ : शेखर
“केही त्यस्तो घटना देशमा भएको छैन, नेपाली कांग्रेसमा केही भएको छैन, किन चार वर्षभित्र अधिवशेन हुन सकेन ? सक्दैन ?,” उनको प्रश्न छ, “नेपाली कांग्रेसलाई यसैगरी चलाउने हो भने भविष्य कमजोर हुन्छ । अहिले हामी ठूलो पार्टी छौँ, तर हामी कहाँ छौँ ? तीन वर्षदेखि कहाँ छाैँ ?”
नेताहरूलाई प्रश्न गर्न नसक्ने कार्यकर्ता दास हुने उनको टिप्पणी छ । “तपाईंहरू कसैको दास होइन । यो कुरा गम्भीरतापूर्वक बुझ्नुस् ।” —न्युज एजेन्सी नेपाल