काठमाडौं। अमेरिकामा २ बालबालिकासहित ४ नेपाली मृत फेला परेका छन्। भर्जिनिया राज्यस्थित मनासस पार्क शहरमा बिहीबार राति नेपाली परिवारका चार सदस्यहरु आफ्नै घरमा मृत भेटिएका हुन्।
मृतकहरूमा ३८ वर्षीय सन्तोष परियार ,३६ वर्षीया अन्जु श्रेष्ठ ,८ वर्षीया छोरी र २ वर्षीय छोरा रहेका छन्। उनीहरू सबैको मृत्यु गोली लागेर भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। घटनास्थलमा एकथान बन्दुक पनि फेला परेको छ।
प्रहरीका अनुसार बिहीबार राति १०:४० बजे घरमा कोही होशमा नरहेको जानकारी पछि कल्याणकारी जाँच (वेलफेयर चेक)को लागि प्रहरी अधिकारीहरू त्यहाँ आएका थिए। प्रहरी भुइँतलाको कोठाहरुमा प्रवेश गर्दा त्यहाँ चार शवहरू भेटिएका थिए।
पीडित परिवार छ महिना अघि नेपालबाट आई त्यहाँ बस्दै आएका थिए। मृतक ८ वर्षीया बालिका मनासस पार्क सिटी स्कुलमा अध्ययनरत थिइन्। विद्यालयले भावुक वक्तव्य जारी गर्दै शोक व्यक्त गरेको छ। पीडित विद्यार्थीका सहपाठी तथा शिक्षकलाई मानसिक सहयोग उपलब्ध गराउने तयारी गरिएको विद्यालयले जनाएको छ।