वीरगन्ज । लालबाबु सिंह । पर्सा ख्रीष्टीयान समाजको आयोजनामा ‘जागृति सम्मेलन तथा नव समिति गठन’ कार्यक्रमको अवसरमा पर्सा ख्रीष्टीयान युवा समिति गठन गरिएको छ । ठोरीस्थित जङ्गल रिसोर्टमा बिहिबार सम्पन्न कार्यक्रममा जिल्ला भरिका ख्रीष्टीयान मण्डलीहरूबाट प्रतिनिधित्व प्राप्त सुनबहादुर लामा ‘माइकल’ (ठोरी) सर्वसम्मत रूपमा अध्यक्षमा चयन भएका हुन् ।
कार्यक्रमको अध्यक्षता मधेश प्रदेश ख्रीष्टीयान समितिका अध्यक्ष तथा पर्सा ख्रीष्टीयान समाजका पूर्वअध्यक्ष रेभ. पा. बाबुराम क्षेत्री ले गर्नुभएको थियो । कार्यक्रममा ११ सदस्यीय समिति चयन गरिएको छ, जसमा एक जना सदस्य मनोनीत गरिने क्वानोनिया वीरगन्ज मण्डलीका एल्डर क्षेत्र बहादुर क्षेत्रीले बताएका छन ।
नवगठित समितिमा अध्यक्षमा सुनबहादुर लामा ‘माइकल’, उपाध्यक्षमा इसाहक सुनार (वीरगञ्ज), सचिवमा सिमसोन सुनार ‘भीमसेन’ (ठोरी), सह-सचिवमा अजित श्रीवास्तव (वीरगञ्ज) र कोषाध्यक्षमा राजु विक (वीरगञ्ज) रहेका छन् । त्यसैगरी सदस्यहरूमा विश्वास डङ्गोल (वीरगञ्ज), उषा मगर (ठोरी), समिया पण्डित (वीरगञ्ज), गोपाल गुरुङ (ठोरी), सुस्मिता उराउ (महतो) झाब्रा रहेका छन् ।
कार्यक्रममा बोल्दै पास्टर बाबुराम क्षेत्रीले युवाहरूमा सत्यता, शुद्धता र नम्रताको महत्वको विषयमा वचनमार्फत प्रेरणादायी सन्देश दिनुभयो । उहाँले पर्सा जिल्लाको ख्रीष्टीयान इतिहासको चर्चा गर्दै नवगठित समितिले अनुकरणीय कार्य गर्दै धार्मिक सहिष्णुता एवं आपसी एकता भाइचारा बलियो गर्नेमा आफू बिश्वस्त रहेकोमा जोड दिदै बधाई शुभकामना दिनुभयो ।
प्रार्थना सामुदायिक चर्च, ठोरी–४ विशालचोक का पास्टर रोशन सुनार ले ‘हेराइ र हिँडाइ’ शीर्षकमा पवित्र बाइबलबाट प्रवचन दिनुभयो । उहाँले सही दृष्टिकोण र असल चालचलनबाट येशूको ज्योति संसारभर फैलिन सक्ने भन्दै, युवाहरूले जीवनका चुनौतीहरूलाई परमेश्वरको वचनमा आधारित भएर सामना गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।
पर्सा ख्रीष्टीयान समाजका अध्यक्ष प्रेम घिमिरे ले ख्रीष्टीयानहरूको जीवनशैलीले समाजमा सकारात्मक परिवर्तन ल्याउन सक्ने भन्दै युवाहरूको ऊर्जा र जोशलाई विवेकपूर्ण रूपमा प्रयोग गर्न सुझाव दिनुभयो ।
कार्यक्रमको अन्तिम सत्रमा बोल्दै समाजका कोषाध्यक्ष डा. पा. सिमोन राई ले संस्थाको १७ वर्षे ऐतिहासिक पृष्ठभूमिबारे जानकारी गराउँदै, वि.सं. २०६५ मा जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको समाजले विविध सामाजिक सेवा सहयोग कार्यमा योगदान पुर्याउँदै आएको स्मरण गर्नुभयो । उहाँले यसअघि फागुनमा जिल्ला महिला विभाग गठन भइसकेको र आज युवा विभाग पनि गठन हुनुले संस्थागत संरचना सुदृढ बन्दै गएको बताउनुभयो ।
कार्यक्रममा ज्येष्ठ नागरिक तथा ठोरी एन्यौन चर्चका पास्टर, साथै वृद्ध–वृद्धा तथा असहाय कल्याण ठोरी का संस्थापक आशाबहादुर गुरुङ ले अध्यक्ष लामालाई खदा लगाई नवगठित सम्पुर्णलाइ बधाई तथा शुभकामना व्यक्त गर्नुभएको थियो ।
त्यसैगरी, पा. तबिता तिमिल्सिना, पा. दिलबहादुर घलान, पा. सुरेश विक लगायतले नवगठित युवा समितिलाई हार्दिक शुभकामना व्यक्त गरेका कार्यक्रमको सञ्चालन पर्सा ख्रीष्टीयान समाजका महासचिव राजकुमार गजमेर ले गर्नुभएको थियो ।
सो अवसरमा संगीतमय प्रस्तुति निरज आचार्य (वीरगञ्ज), मनोज विक र सिद्धार्थ सुनार (ठोरी) को अगुवाइमा सम्पन्न भएको थियो, जसले कार्यक्रमलाई आत्मीय, प्रेरणादायी र प्रभावशाली बनाएको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।