देशभित्र बेलाबखत अघोषित लोडशेडिङ भइरहेको भन्ने गुनासोमाझ नेपाल विद्युत् प्राधिकरणले भारतलाई बिजुली बेच्न सुरु गरिसकेको र आउँदो असारदेखि बाङ्ग्लादेशलाई बिजुली निर्यात गर्ने तयारी गरिराखेको अधिकारीहरूले बताएका छन्।
बिजुली आयात र निर्यातको आँकडा भने ‘पीक आवर’ उपयोगमा आधारित रहेको बताइन्छ।
वर्षाको समयमा बिजुली खेर जाने जोखिम पनि कायमै रहेको छ।
प्राधिकरणका अधिकारीहरूले केही दिनयता पानी पर्ने क्रम बढेसँगै यो सिजनको बिजुली निर्यात सुरु भएको बताएका छन्।
शनिवारदेखि रातको समयमा भारततर्फ दैनिक डेढ सयदेखि दुई सय मेगावाटसम्म निर्यात गर्न थालिएको तथ्याङ्क छ।
वर्षासँगै नदी प्रवाहमा आधारित जलविद्युत् आयोजनाहरूको उत्पादन बढ्ने गर्छ।
उत्पादन बढेसँगै रातको समयमा बिजुली खेर जाने जोखिम हुने र प्रसारण लाइनको अभावमा पनि कतिपय आयोजनाका उत्पादन खेर जाने गरेका विवरण छन्।
प्राधिकरणका प्रवक्ता राजन ढकालले त्यस्ता समस्या हल गर्न प्रयत्नरत् रहेको र असार १ गतेदेखि बाङ्ग्लादेशतर्फको निर्यातका निम्ति आफूहरू सहज अवस्थामा हुने बताए।
हिउँदमा भने नेपालले भारतसँग बिजुली किन्दै आएको छ। प्राधिकरणका अधिकारीहरू अहिले पनि दिनमा भारतबाट दिनहुँ चार सय मेगावाटसम्म विद्युत् आपूर्ति भइराखेको बताउँछन्।
असारदेखि ४० मेगावाट बाङ्ग्लादेशलाई
गएको असोजमा नेपाल, भारत र बाङ्ग्लादेशका अधिकारीहरूबीच नेपालबाट बाङ्ग्लादेश ४० मेगावाट विद्युत् निर्यात गर्ने त्रिपक्षीय सम्झौता भएको थियो। उक्त सम्झौताअनुसार नेपालले आउँदो असार एक गतेदेखि ६ महिनासम्म बाङ्ग्लादेशलाई चौबीसै घण्टा विद्युत् निर्यात गर्नेछ।
वर्षायाम सुरु भएपछिका ६ महिना विद्युत् निर्यात गर्ने लक्ष्य राखिएको प्राधिकरणका अधिकारीहरू बताउँछन्। “असारबाट उनीहरूले शेड्युलिङ गर्न थाल्छन्, त्यही अनुसार हामीले विद्युत् पठाउँछौँ,” प्रवक्ता ढकाललले भने, “सबैकुरा सम्झौताअनुरूप नै हुन्छ। त्यसमा कुनै समस्या छैन।”
गत कार्तिक ३० गते एक दिनका निम्ति विद्युत् प्रसारण गरेर उक्त लाइनको परीक्षण गरिएको थियो।
नेपालको पूर्वी सीमाबाट बाङ्ग्लादेशबीचको दूरी ४० किमि मात्रै भए पनि उक्त क्षेत्रमा प्रसारण लाइन नभएका कारण नेपालको बिजुली ढल्केबरबाट भारतको बहरमपुर हुँदै बाङ्ग्लादेश पुग्ने अधिकारीहरू बताउँछन्।
“भारत हुँदै बाङ्ग्लादेश निर्यातका निम्ति उपयोग गर्न लागिएको उक्त बहरमपुर–भेरामारा प्रसारण लाइनमा उपलब्ध लिङ्क नै ५० मेगावाट क्षमताको हो। उनीहरूले दश मेगावाट जगेडा राखेर हामीलाई ४० मेगावाटको लिङ्क दिन लागेका हुन्,” ढकालले भने, “नेपाल–भारत र नेपाल–बाङ्ग्लादेशबीचका द्विपक्षीय छलफलहरूमा प्रसारण क्षमता बढाउनेबारे छलफल भइराखेकै छन् तर त्यसका लागि केही समय लाग्ला।”
सम्झौतामा नेपालले बाङ्ग्लादेशलाई बेच्न लागेको विद्युत्को मूल्य प्रतियुनिट ६.४ अमेरिकी सेन्ट तय गरिएको छ। पछिल्लो सटही दरअनुसार यो नेपाली ८ रुपैयाँ ७९ पैसा बराबर हुन्छ।
नेपालले उत्पादन बढी भएका बेला भारतलाई दिने र घटेका बेला भारतबाट किन्दै आएको छ।
जानकारहरूका अनुसार नेपालले गर्ने विद्युत् निर्यातमा उत्पादन, प्रसारण लाइनको क्षमता र आपसी विद्युत् व्यापार सम्झौता गरी तीनवटा पक्षले भूमिका खेल्छन्।
नेपाल–भारतबीच १५ सय मेगावाट विद्युत् प्रसारण हुन सक्ने द्विदेशीय लाइनहरू उपलब्ध छन्।
तर चालू वर्षका निम्ति भारतले नेपाललाई निर्यातका निम्ति दिएको अनुमति भने ९४० मेगावाटको मात्रै छ।
प्राधिकरणका प्रवक्ता ढकाल “भारतले अघिल्लो वर्षकै आयात अनुमतिलाई निरन्तरता दिएको” जानकारी दिँदै उक्त सीमा बढ्न सक्ने बताउँछन्।
“हामीले ठूलासाना विभिन्न आयोजनाबाट हुने उत्पादनलाई लक्ष्य गरेर भारतसँग तीन सयदेखि साढे तीन सय मेगावाटसम्म विद्युत् निर्यात थपिदिन अनुरोध गरेका छौँ,” उनले भने, “त्यो अनुमति प्राप्त हुने प्रक्रियामा छ।”
नेपालले निर्यातयोग्य भनी भारतसमक्ष पेश गरेका आयोजनाहरूलाई भारतले समयमै अनुमति दिनेमा कतिपय जानकारहरू भने संशय व्यक्त गर्छन्।
ऊर्जा मामिलाबारे लेख्दै आएका पत्रकार विकास थापा भारतले वर्षैपिच्छे नवीकरण गर्नुपर्ने गरी विद्युत् कारोबारका निम्ति “पटके अनुमति” दिने गरेको र त्यो “नेपालको भूराजनीतिक, आन्तरिक राजनीति तथा नेताविशेषको प्रवृत्तिमा समेत” निर्भर रहने गरेकाले त्यसमा थोरै तलमाथि हुनेबित्तिकै बिजुली खेर जाने जोखिम रहने बताउँछन्।
“भारतले सन् २०१८ देखि लागु गरेको विद्युत् व्यापारसम्बन्धी एउटा कार्यविधिले उर्जा आयातका निम्ति विद्युत् मन्त्रालयको निश्चित् इकाइको अनुमतिमात्र नभई विदेश मन्त्रालयको समेत स्वीकृति आवश्यक पर्छ,” उनले भने, “त्योबाहेक हाम्रा आन्तरिक प्रसारण लाइनहरूमा विद्यमान समस्या र आन्तरिक खपत पनि उल्लेख्य बढ्ने नदेखिएकाले विद्युत् खेर जाने जोखिम छ।”
जानकारहरूले यसपालिको वर्षायाममा पाँच सय मेगावाटसम्म बिजुली खेर जाने जोखिम रहेको प्रक्षेपण गरेका छन्।
लमजुङको दोर्दी खोलामा निर्माण सम्पन्न भएको २७ मेगावाटको दोर्दी जलविद्युत् आयोजनाको विद्युत् प्रवाह हुने प्रसारण लाइन तयार नहुँदा विद्युत् खेर गइरहेको विवरणहरू बेलाबखत आउने गरेका छन्।
मर्स्याङ्दी करिडोर २२० केभी प्रसारण लाइन आयोजनाअन्तर्गत तनहुँको आँबुखैरनी गाउँपालिकाको मार्कीचोकबाट चितवनको भरतपुर महानगरपालिका आँपटारीस्थित नयाँ भरतपुर सबस्टेसनसम्मको लाइन निर्माण पूरा नहुँदा दोर्दीको खपतमा समस्या देखिँदै आएको हो।
“वर्षायाममा समस्या देखिएको हो तर पत्रपत्रिकामा आएझैँ हिउँदमै बिजुली खेर गएको चाहिँ होइन,” प्रवक्ता ढकालले भने, “गएको वर्षायाममा ६६ प्रतिशत खपत भएको थियो। आयोजना पूर्ण क्षमतामा सञ्चालन हुँदा पनि तीस प्रतिशतभन्दा खेर नजानु पर्ने हो।”
असारसम्ममा मार्कीचोक–भरतपुर प्रसारण लाइन पूरा गर्ने गरी “जोडतोडले काम भइराखेकाले” दोर्दीको समस्या नदोहोरिने उनी बताउँछन्।
“लोड भन्ने कुरा तलमाथि भइरहन्छ। कुनै निश्चित् ठाउँको लोड ‘स्विच अफ’ भयो वा ट्रान्समिशन लाइनमै समस्या आयो भने पाँच सयमात्र नभइ हजार मेगावाट नै खेर जान सक्छ। तर हामीले औसतमा हेर्नुपर्छ, ती व्यवस्थापन गर्न सकिने किसिमकै छन्,” ढकालले भने।
तर थापा भने असारसम्ममा नयाँ आयोजनाका उत्पादन पनि थपिने भएकाले व्यवस्थापनमा चुनौती हुन सक्ने धारणा राख्छन्।
“असारसम्ममा ९ सय मेगावाट थपिन सक्ने देखिन्छ,” थापा भन्छन्, “विद्युत् भनेको चौबीसी घण्टा उत्पादन हुने कुरा हो, त्यही अनुसार चौबीसै घण्टा खपत पनि हुनुपर्यो। सङ्ग्रह गरेर राख्न मिल्ने कुरा भएन। अपवादका बाहेक चौबीसै घण्टा सञ्चालन भइ राति समेत विद्युत् खपत गर्ने उद्योगहरूको सङ्ख्या पनि धेरै नभएकाले रातको समयमा विद्युत् उपयोग नहुने डरलाग्दो समस्या छ।”
प्रवक्ता ढकाल आफूहरू त्यस्ता चुनौतीहरूलाई व्यवस्थापन गर्न प्रयत्नरत रहेको बताउँछन्।
“मार्कीचोक–भरतपुरको काम चाँडै सक्ने योजनामा छौँ। भारतबाट थप निर्यातको अनुमति मागेका छौँ। त्यसबाहेक अन्य आन्तरिक प्रसारण लाइनहरू पनि मजबुत गर्छौँ। आन्तरिक खपत पनि बढ्छ भन्ने आशा छ। त्यसैले धेरै समस्या नआउला,” उनी भन्छन्।