पर्सा । पर्सा जिल्लाको दोस्रो सदरमुकाम पोखरिया नगरपालिका वार्ड नं. ८ अन्तर्गत जगतपुर, मननपुरमा आज राष्ट्रिय मुक्ति पार्टी नेपालको संगठन विस्तार तथा सदस्यता वितरण कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। पार्टीका जिल्ला संयोजक राजेश साहको अध्यक्षतामा आयोजित उक्त कार्यक्रम तीन महिनाको अभियान अन्तर्गत सम्पन्न भएको हो।
कार्यक्रमको औपचारिक उद्घाटन संविधानसभा सदस्य ईसलाम हवारीले गर्नु भएको थियो। कार्यक्रममा पार्टीका केन्द्रीय सदस्यहरू नेजामुद्दीन शमानी, अनिरुद्ध प्र. कलवार, फहिम हवारी लगायतका नेताहरूको उल्लेख्य उपस्थिति रहेको थियो। कार्यक्रममा १२६ जनालाई पार्टीको सदस्यता प्रदान गरिएको छ।
उक्त अवसरमा बोल्दै नेताहरूले नेपालमा मधेशी, थारू, जनजाति लगायतका समुदायमाथि ऐतिहासिक रूपमा भइरहेको विभेदको अन्त्यका लागि सशक्त संगठनको आवश्यकता रहेको उल्लेख गरे। यस्ता विभेदकै कारण देशमा पटक–पटक संघर्ष भए तापनि अवस्था अझै जस्ताको तस्तै रहेको बताएका छन्।
कार्यक्रममा पोखरिया नगरपालिकामा भइरहेको संस्थागत भ्रष्टाचार, ठगी धन्दा लगायतका विषयमा पार्टीद्वारा बुझाइएको ज्ञापन पत्रमाथि सुनुवाइ नभएकोप्रति गम्भीर आपत्ति जनाउँदै अब सशक्त आन्दोलनका लागि एक जुट हुन आह्वान गरिएको थियो।
राष्ट्रिय मुक्ति पार्टी नेपालले तीन महिनासम्म चलाउने अभियानअन्तर्गत देशभर संगठन विस्तार र जनसंपर्कलाई तीव्र बनाउने योजना सार्वजनिक गरेको छ।