वीरगन्ज । मयंक रौनियार । नेपाली कांग्रेसका वरिष्ठ नेता आदरणीय डा. शेखर कोइरालाले स्ववियु पदाधिकारीहरूलाई आफ्नो निवासमा बोलाई खादा माला लगाइ स्वागत तथा सम्मान गरेका छन्। वीरगंजस्थित ठाकुरराम बहुमुखी क्याम्पस (टीआरएमसी) का स्ववियु पदाधिकारीहरू विद्यार्थी हितका एजेन्डा अघि बढाउन सक्रिय भइरहेका बेला वरिष्ठ नेताको सम्मानले उनीहरूलाई थप ऊर्जा मिल्ने अपेक्षा गरिएको छ।
स्ववियु पदाधिकारीहरूले क्याम्पसमा सुधारका लागि विभिन्न कदम चाल्न थालेका छन्। शिक्षाको गुणस्तर अभिवृद्धि, नियमित कक्षा सञ्चालन, परीक्षा प्रणाली सुधार, र पुस्तकालय तथा प्रयोगशाला सुविधामा सुधार जस्ता विषयहरू उनीहरूको प्राथमिकतामा छन्। वीरगंज जस्तो सीमावर्ती क्षेत्रमा अव्यवस्थित प्रशासन, बाहिरी हस्तक्षेप र सुरक्षासम्बन्धी समस्याहरू लामो समयदेखि जटिल बन्दै आएका छन्। यसलाई सम्बोधन गर्न स्ववियु प्रतिनिधिहरू प्रशासनसँग संवाद गर्दै आएका छन्।
यसै क्रममा, प्रमुख जिल्ला अधिकारीसँग भेटघाट गर्दै विद्यार्थीका समस्या समाधानका लागि पहल सुरु भएको छ। छात्रवृत्ति व्यवस्थापन पारदर्शी बनाउने, खेलकुद तथा शैक्षिक गतिविधिहरूलाई प्रवर्द्धन गर्ने, र महिला विद्यार्थीहरूको सुरक्षाका लागि विशेष कार्यक्रम ल्याउने विषयमा पनि छलफल भएको छ।
स्ववियु नेतृत्वलाई विद्यार्थी राजनीतिलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठाएर समग्र विद्यार्थी समुदायको हितमा केन्द्रित गर्ने चुनौती छ। चुनावी प्रतिबद्धता पूरा गर्दै क्याम्पस सुधारका कामहरूलाई गति दिने क्रममा वरिष्ठ नेता डा. शेखर कोइरालाको सम्मानले उनीहरूलाई थप प्रेरित बनाएको स्ववियु पदाधिकारीहरूले बताएका छन्। अबको चरणमा उनीहरूको कार्यसम्पादनले नै वास्तविक परिवर्तन ल्याउनेछ।