जनकपुरधाम । मधेश प्रदेशमा खेलकुदको विकासलाई थप गति दिन खेलकुद तथा समाज कल्याण मन्त्रालयले एक महत्वपूर्ण कार्यक्रमको थालनी गरेको छ । मन्त्रालयद्वारा आयोजित जिल्ला खेलकुद विकास समितिका प्रशिक्षक तथा प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धि कार्यक्रमको आज जनकपुरधाममा उद्घाटन गरिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मधेश प्रदेशका खेलकुद मन्त्री जयसवालले प्रदेशमा खेलकुदको विकासका लागि दक्ष जनशक्ति तयार पार्नु अपरिहार्य रहेको बताए । उनले प्रशिक्षक र प्रशासनिक कर्मचारीहरूको क्षमता अभिवृद्धिले खेलाडीहरूको प्रशिक्षण र खेलकुद व्यवस्थापनमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे ।
मन्त्री जयसवालको यो पहलले मधेश प्रदेशमा खेलकुदको स्तर उकास्न र खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न थप प्रेरणा मिल्ने अपेक्षा गरिएको छ ।