रौतहट | सिकिन्द्र साह | रौतहट जिल्लाको फतुवा विजयपुर नगरपालिका वडा नम्बर ३, मेवा टोलमा आज अपराह्न १२ बजे दुइजना किशोरी रुखमा पासो लगाएर झुन्डिएको अवस्थामा फेला परेका छन्।
बिजयपुर इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्र मणि अधिकारीलाई सो गाउँका वडा अध्यक्ष रामेश्वर यादव तथा स्थानीय बासिन्दाले खबर गरेपछि घटनास्थलमा प्रहरी टोली पुगेको थियो।
झुन्डिएको अवस्थामा फेला परेका किशोरीहरू सोही टोलका सुरेश पण्डितकी १७ वर्षीया छोरी पूजा कुमारी पण्डित र इन्दल पासवानकी १६ वर्षीया छोरी कल्पना कुमारी पासवान रहेका छन्। प्रारम्भिक जानकारी अनुसार, दुबै जना घरबाट खाना खाएर खेततर्फ हाँस्दै रमाउँदै गएका थिए। तर, केही समयपछि उनीहरू मृत अवस्थामा भेटिएपछि गाउँ नै शोकमा डुबेको छ।
दुबै युवतीको शव पोस्टमार्टमका लागि गौरस्थित प्रादेशिक अस्पताल पठाइएको छ। घटनाको वास्तविक कारण पत्ता लगाउन अनुसन्धान भइरहेको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिएका छन्।