काठमाडौं । चलचित्र ‘लाज शरणम्’ प्रसारणको मिति कुर्दै प्रचार-प्रसारमा व्यस्त थियो । ट्रेलर सार्वजनिक गरेपछि व्यापारिक उडान लिने दाउमा निर्माता थिए । निमार्ण टिमदेखि कलाकारसम्म फिल्म सफलताको दौडाहामा रहँदा त्यति फिल्मको दौडलाई ‘ब्रेक’ लगाउने उद्देश्यसहित अर्को दौडमा निस्किए, मोहम्मद अफताब आलम ।
फिल्ममा आफ्नो अनुहारसँग मिल्ने मुखाकृति, पहिरन, जीउडाल, कपाल मिलाई शैली, हाउभाउ र लवज अनुमतिबिना प्रयोग गरिकाएले त्यसलाई रोक्न माग गर्दै आलमले २४ माघमा उच्च अदालत पाटनमा रिट दायर गरे ।
निर्माण पक्ष फिल्मलाई ‘सुपरहिट’ बनाउने दाउमा थियो । तर, यता आलम भने त्यो फिल्मलाई ‘सुपर फ्लप’ बनाउने दाउमा । यी दुईको ‘ब्याटल’ अदालतबाट टुंगो लाग्ने स्थिति आयो । नख्खु कारागारको चौघेरा नाघेर आलम अदालतको ढोकासम्म पुगे ।
साढे ५ वर्षसम्म गुमनाम कैद भुक्तान गर्दै आएका आलम उच्च अदालत पुगेर चलचित्र लाज शरणम् विरुद्ध उजुरी दिएपछि फेरि चर्चाका पात्र बने ।
यो रिटपछि लाज शरणम् र आलम दुवैको चर्चा-परिचर्चा भयो । ६ फागुनमा उच्च अदालतका न्यायाधीश लालबहादुर कुँवर र हेमन्त रावलको इजलासले आलमको पक्षमा अन्तरिम आदेश दिंदै प्रचारप्रसार, सामाजिक सञ्जाल र संचारमाध्यममा नगर्न र नगराउन भन्यो ।
केन्द्रीय चलचित्र जाँच समितिबाट पास हुन बाँकी नै रहेको भन्दै अदालतले आलमको पक्षमा अन्तरिम आदेश दियो । तर, ११ फागुनमा सेन्सर बोर्डले पास गरेपछि चलचित्र प्रसारणको बाटो खुल्यो ।
कारागार चलान हुँदाका सुरुका दिनमा भने भेटघाट बाक्लो भए पनि अहिले भने निकै पातलो हुने गरेको कारागार प्रशासन बताउँछ । आफन्तहरू फाट्टफुट्ट रूपमा भेट्न आउने गर्छन्
जेपीटी क्रिएसनले निर्माण गरेको फिल्म ‘लाज शरणम्’ १४ फागुनमा प्रसारण सुरु भएको छ । यता बजारमा लाज शरणमले प्रसारण सुरु गर्दा त्यसलाई रोक्न भन्दै रिट दायर गर्ने उनै आलम भने कारागारको चौघेरामा घाम ताप्दै दिन बिताउँदैछन् । उनको दैनिक नख्खु कारागारको चौघेराभित्र बितिरहेको छ ।
नख्खु कारागारको सीआरसी ब्लकमा रहेका ४५९ कैदी मध्ये एक हुन् नेपाल कांग्रेसका नेतासमेत रहेका पूर्वसांसद तथा मन्त्री आलम । उनै आलम अहिले कारागार कसरी दिन काटिरहेका छन् ? यिनै विषय खोतल्ने प्रयास अनलाइनखबरले गरेको छ ।
जेल बाहिर रहँदा निकै रवाफिलो शैलीका आलमको कारागार दैनिकी भने सरल छ । सांसद र मन्त्री भइसकेका भीभीआईपीको जेल जीवन, बसाइ, खुवाइ कस्तो हुँदो हो ? पक्कै पनि अरूको भन्दा केही फरक, आकर्षक र केही सुविधाउन्मुख । तर यसबारे नख्खु कारागारका प्रशासक भीमराज कोइराला भने जेलभित्र आएपछि सबै समान हैसियताका कैदी हुने बताउँछन् ।
‘सुरुमा आउँदा केही फरक महसुस गर्छन् । गर्न खोज्छन् पनि । तर यहाँ बस्न थालेपछि बिस्तारै बानी पर्छ । अनि आफैंलाई अरू समान कैदी जस्तै लाग्न थाल्छ । त्यही अनुसार बसोबास र खानपान हुन्छ’, कोइराला भन्छन्, ‘आलम पनि अन्य कैदी सरह नै जेल जीवन बिताइरहेका छन् ।’
०००
२९ कात्तिको राति जिल्ला प्रहरी कार्यालय रौतहटको हिरासतबाट नख्खु कारागार ल्याइएका आलम खानपानका शोखिन् छन् । कारागारको मेसमा अरू कैदीलाई सरह पकाएको खाना आलमका लागि चल्दैन ।
पहिल्यैदेखि मिठो-मसिनो खानामा बानी परेका आलम आफैं खाना बनाउँछन् । आफ्नो इच्छाअनुसार आफैं खाना बनाएर खाने गरेको कारागार स्रोत बताउँछ । ‘मेसमा एकैपटक धेरै जनालाई बनाउँदा मिठो नहुन पनि सक्छ । त्यसैले हुनसक्छ । आलम आफैं पकाएर खाना खान्छन्,’ कारागार स्रोतले भन्यो ।
आफूलाई खाना मन लागेका खानेकुरा बाहिरबाट पनि मगाएर खाने बानी आलमको छ । आफन्त भेटघाट गर्न आएका बेला र कहिलेकाहीँ कारागार नाइेकलाई पनि उनी किन्न पठाउँछन् ।
खानपानमा ध्यान दिने आलमको केही समय अघि मिर्गौलामा समस्या देखिएको थियो । त्यसपछि उनले नख्खु कारागारभित्रै रहेको अस्पतालमा देखाए । अवस्था सामान्य रहेको भन्दै औषधि दिएको थियो । अहिले उक्त समस्यासमेत समाधान भइसकेको छ । ‘बिरामी भएकाले पनि होला खानपानमा उहाँ निकै ध्यान दिनुहन्छ,’ कारागार स्रोत भन्छ ।
०००
खानपानमा ध्यान दिने आलम शारीरिक सुगठनमा पनि ध्यान दिन्छन् । ज्यान फिट गर्न भन्दै उनी कारागारकै जिम गर्छन् । नख्खु कारागारका कैदीका लागि भने जिम हलको पनि व्यवस्था कारागार भित्रै गरिएको छ ।
आलम कहिले कसो जिममा पनि बिताउने गर्छन् । ‘उहाँ सधैं जिम गरेको त देखिंदैन । कहिलेकाहीँ भने जिम गर्ने बानी देखिन्छ’, कारागारका एक सुरक्षा अधिकृत भने, ‘सामान्य जिम गरेपछि नुहाइधुहाइ गरेर खानपानमा उनी व्यस्त हुन्छन् ।’
शरीर फिट राख्न जिममा कहिलेकाहीँ भेटिने आलम अन्य खेलकुदमा भने सक्रिय छैनन् ।
०००
आलम राति अक्सर १० बजेतिर सुत्छन् । बिहान ६ बजेतिर उठ्छन् । बिहानीपख उनी कहिलेकाहीँ पूजापाठ पनि गर्छन् । यो नियमित भने हुँदैन । ‘व्यक्तिको सबै आनीबानी हामीले सोधीखोजी गर्ने विषय पनि होइन । तर, कहिले कसो भने पूजापाठ पनि गरेको देखिन्छ,’ कारागार प्रशासन स्रोत भन्छ ।
बिहानको काम सकिएपछि उनी घाम ताप्न बाहिर निस्कन्छन् । जाडोको समय भएकाले अहिले अक्सर घाम ताप्न निस्कन्छन् । बिहानको खाना खाएपछिको समय भने उनको भेटघाट र कैदीबन्दीसँग गफगाफमा बित्ने गर्छ ।
कारागार चलान हुँदाका सुरुका दिनमा भने भेटघाट बाक्लो भए पनि अहिले भने निकै पातलो हुने गरेको कारागार प्रशासन बताउँछ । आफन्तहरू फाट्टफुट्ट रूपमा भेट्न आउने गर्छन् । तर, पछिल्लो समय राजनीतिक भेट भने नेदेखिएको कारागार प्रशासन बताउँछन् ।‘राजनतिक तहका नेताहरूको भेटघाट पछिल्लो समय देखिएको छैन । परिवार र जिल्लातिरका मान्छेहरू भेट्न आउँछन्’, कारागार प्रशासक कोइराला भन्छन् ।
राजनैतिक नेता कारागार परेकाले विभिन्न अध्ययनमा व्यस्त रहेन आँकलन गरिए पनि आलम भने त्यस्तो अध्ययनमा नरहेको कारागारको स्रोत बताउँछ । सामान्य पत्रपत्रिका पढ्ने, टिभी हेर्ने लगायत तर अन्य किताबहरू अध्ययन गरेको जानकारी नरहेको कारागार प्रशासनको भनाइ छ ।
शक्तिशाली तथा भीआईपीको रोजाइमा डिल्लीबजार कारागार पर्छ । थोरै कैदी बन्दी र शान्त हुने भएकाले पनि भीआईपीहरू डिल्लीबजार कारागार रोज्ने गर्छन् । तर आलमले भने अहिलेसम्म न कारागार प्रशासनसँग डिल्लीबजार पठाइदिने भनेर माग गरेका छन् न कुनै गुनासो । उनी अन्य साधारण कैदी बन्दी जस्तै जेल जीवन बिताइरहेको कारागार प्रशासक कोइराला बताउँछन् ।
०००
करिब साढे ५ वर्ष कैद भुक्तान गरेका आलम अहिले साढे १५ वर्ष कैद भुक्तान गर्न बाँकी नै छ
करिब साढे ५ वर्ष नख्खु कारागारमा जेल जीवन बिताएका आलम अझै साढे १५ वर्ष जेलमै रहनेछन् । संविधान सभाको निर्वाचनको अघिल्लो रात २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए ।
घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।
आलमका काका शेख इन्द्रिसको घरमा बम बनाउने क्रममा त्रिलोकप्रताप सिंह र ओशी अख्तरसहित घाइतेहरूलाई जिउँदै इँटाभट्टामा जलाएर हत्या गरेको आरोप आलममाथि थियो ।
आलमले नै बनाउन लगाएको बम बिस्फोटमा परेर घाइते भएकाहरूलाई घटना सार्वजनिक हुने भन्दै जिउँदै इँटाभट्टामा जलाएर हत्या गरिएको थियो । त्यतिबेला प्रहरीले घटनास्थलमा कुनै किसिमको बिस्फोट नभएको भनेर मुचुल्का बनाएको थियो । प्रहरी, जिल्ला सरकारी वकिल कार्यालय र पुनरावेदन सरकारी वकिल कार्यालयले मुद्दा नचल्ने राय दिएका थिए ।
३० असार, २०६५ मा तत्कालीन महान्यायाधिवक्ता यज्ञमूर्ति बञ्जाडेले मुद्दा नचल्ने निर्णय गरे । उनको निर्णयमा भनिएको थियो, ‘मारिएका भनिएका व्यक्तिहरूको मृत्यु भएको भन्ने यकिन हुन नसकेको साथै उनीहरूको मृत्यु कर्तव्यबाट हुन गएको भन्ने पुष्टि हुन सकेको नदेखिएको ।’
बम कान्डमा मृत्यु भएका ओसी अख्तरकी आमा रुक्सनाको समेत गोली हानी हत्या भएको थियो । ८ माघ २०६७ को साँझ दुर्गाभगवती गाउँपालिकास्थित माइतीबाट आफ्नो घर आउँदै गर्दा गौडा कुरेर बसेका हतियारधारी समूहले रुक्सनाको गोली हानी हत्या गरेको थियो ।
यो प्रकरणमा आलमविरुद्धको जाहेरी लामो समयसम्म कारबाही नभइ त्यत्तिकै रह्यो । पीडितहरूले अनुसन्धान अघि बढाउन माग राखी सर्वोच्च अदालतमा निवेदन दिए ।
न्यायाधीशद्वय सुशीला कार्की र डा. भरतबहादुर कार्कीको इजलासले केही न केही प्रमाण भेटिएको अवस्थामा महान्यायाधिवक्ताले स्वेच्छाचारी निर्णय गर्न नहुने फैसला गरेका थिए ।
सर्वोच्च अदालतको आदेशपछि १९ असोज २०७६ मा प्रहरीले रौतहट क्षेत्र नं. २ का तत्कालीन सांसदसमेत रहेका आलम पक्राउ गरेको थियो । त्यतिबेला रौतहटका एसपी भुपेन्द्र खत्री थिए ।
उनीहरूविरुद्ध कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र बम विस्फोटसम्बन्धी कसुर गरी तीन वटा मुद्दा दायर गरिएको थियो ।
थुनछेक बहसपछि जिल्ला अदालत रौतहटले २९ कात्तिक २०७६ मा आलमलाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
पछि आलमसहित ४ जनालाई रौतहट जिल्ला अदालतका न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले १३ वैशाख २०८१ मा जन्मकैदको फैसला गरेको थियो । घटना भएको समयमा मुलुकी ऐन २०२० कार्यान्वयनमा रहेको भन्दै सोही अनुसार जन्मकैद अर्थात २० वर्षको सजाय भएको थियो । करिब साढे ५ वर्ष कैद भुक्तान गरेका आलम अहिले साढे १५ वर्ष कैद भुक्तान गर्न बाँकी नै छ ।