वीरगञ्ज । सङ्घीय संसद्को हिउँदे अधिवेशन आज शुक्रवारबाट सुरु हुँदै छ । प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठक दिउँसो १ बजे बस्ने तय भएको छ ।
संसद् सचिवालयका अनुसार प्रारम्भिक कार्यसूचीमा राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वान, प्रधानमन्त्रीको कार्यभार तोकिएको तथा मन्त्रिपरिषद्को कार्यभार सम्बन्धी पत्र वाचन गर्ने कार्यक्रम समावेश छ ।
सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार, अधिवेशन सञ्चालनका लागि सबै तयारी पूरा भइसकेको छ ।
अधिवेशनको पहिलो दिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित विभिन्न दलका नेताहरूले मन्तव्य दिनेछन् । साथै, सरकारका तर्फबाट ६ वटा अध्यादेश संसद्मा पेस गर्ने तयारी गरिएको छ । तर, विपक्षी दलहरूले यसलाई अवरुद्ध गर्ने रणनीति बनाएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको विपक्षी दलहरूको बैठकले सरकारद्वारा प्रस्तुत गर्न लागिएको अध्यादेशलाई अस्वीकार गर्ने निर्णय गरेको छ । विपक्षी दलहरू संसद्मा आफ्ना धारणा राख्न चाहन्छन्, तर अध्यादेश पारित हुन नदिन अवरोध सिर्जना गर्ने योजनामा छन् ।
संसद्को आजको बैठक सत्ता र विपक्षी दलहरूबिचको कडा रस्साकस्सीले भरिएको हुने सङ्केत देखिएको छ ।