प्रयागराज, माघ १६ – भारतको प्रयागराजमा जारी महाकुम्भ मेलामा आज बिहान भागदौड मच्चिँदा कम्तीमा १४ भक्तजनको मृत्यु भएको छ भने ५० भन्दा बढी घाइते भएका छन्।
प्राप्त प्रारम्भिक विवरण अनुसार, बिहान स्नान गर्न भक्तजनको भीड अत्यधिक भएपछि स्थिति नियन्त्रणबाहिर गएको थियो। अचानक भागदौड सुरु हुँदा दर्जनौँ मानिस लडेर किचिएका थिए। उद्धार कार्य जारी छ भने घाइतेहरूलाई उपचारका लागि नजिकैका अस्पतालहरूमा लगिएको छ।
घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। महाकुम्भ मेलामा लाखौँ श्रद्धालुहरू उपस्थित हुने भएकाले सुरक्षा व्यवस्थामा कडाइ गरिएको भए पनि भीड नियन्त्रणमा चुनौती देखिएको छ।
थप विवरण आउन बाँकी।