वीरगंज | सरकारले एकल आमाले हुर्काएका सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन सहज हुने गरी नागरिकतासम्बन्धी विधेयक प्रतिनिधि सभामा दर्ता गरेको छ।
गृहमन्त्री रमेश लेखकले मंगलबार प्रतिनिधि सभामा नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक दर्ता गराएका हुन्। उक्त विधेयकले आमाको नामबाट नागरिकता लिने प्रक्रियालाई केही हदसम्म सहज बनाउने प्रस्ताव गरेको छ।
विधेयकअनुसार नागरिकता लिने व्यक्तिले बाबुको पहिचान नखुलेको भनी स्वघोषणा गर्नुपर्नेछ। यस विधेयकमा कुनै व्यक्तिको जन्मदर्ता, शैक्षिक योग्यताको प्रमाणपत्र वा अन्य प्रमाणमा बाबुको नाम भए पनि ती बाबु सम्पर्कमा नरहेको अवस्थामा सन्तानले आमाको नामबाट मात्रै नागरिकता लिन पाउने प्रावधान राखिएको छ।
यसअघि नागरिकतासम्बन्धी ऐनमा यस्ता सन्तानका लागि व्यवस्था नभएकोले एकल आमाले हुर्काएका धेरै सन्तान नागरिकता लिनबाट बञ्चित हुँदै आएका थिए।
विधेयकमा, “कुनै व्यक्तिको जन्मदर्ता, शैक्षिक प्रमाणपत्र वा अन्य प्रमाणपत्रमा बाबुको नाम भए पनि बाबुको पहिचान नखुलेको र सम्पर्कमा नरहेको भनी स्वघोषणा गरेमा, बाबुको पहिचान नभएको मानिनेछ र ती व्यक्तिले वंशजको आधारमा नेपाली नागरिकता प्राप्त गर्नेछन्,” उल्लेख गरिएको छ।