वीरगंज । जनमत पार्टीको युवा जनमत संघ पर्साले सोमबार बीरगञ्जमा आयोजना गरेको विशेष कार्यक्रममा २ सयभन्दा बढी युवाहरूले विभिन्न दल परित्याग गर्दै जनमत पार्टीमा प्रवेश गरेका छन्।
पर्सा जिल्ला कार्यालयमा आयोजित कार्यक्रममा नवप्रवेशी युवाहरूलाई पार्टीका वरिष्ठ नेताहरूले माला, गम्छा र टीका लगाएर स्वागत गरे। कार्यक्रममा पार्टीका पर्सा जिल्ला अध्यक्ष ओमप्रकाश सर्राफ, मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री सकिल मिया, पार्टीका केन्द्रीय सदस्य सिपु तिवारी, नेताहरू अनुराग द्विवेदी, माधव सिंह र युवा नेता राजुराज गिरीको विशेष उपस्थिति थियो।
नवप्रवेशी युवाहरूले जनमत पार्टीमा आबद्ध भई मधेसको विकास र युवाहरूको हकहितका लागि सक्रिय भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा पार्टी नेताहरूले मधेसको राजनीतिक परिवर्तनमा युवाहरूको महत्त्वपूर्ण योगदान रहने विश्वास व्यक्त गरे।
जनमत पार्टीले पछिल्लो समय युवाहरूलाई आकर्षित गर्दै संगठन विस्तारमा सक्रियता बढाएको छ। विशेष गरी, मधेसका मुद्दाहरूलाई प्राथमिकतामा राखेर काम गर्ने पार्टीका एजेन्डाले युवाहरूको ध्यान खिचेको बताइएको छ।
कार्यक्रमले पार्टीको संगठनात्मक बललाई थप सुदृढ गर्दै आगामी दिनमा मधेसको सामाजिक, आर्थिक, र राजनीतिक रूपान्तरणका लागि प्रभावकारी अभियान सञ्चालन गर्ने लक्ष्य लिएको छ।