सुविधाभारको अर्थ‘अर्काको सम्पत्ति कानूनबमोजिम आफूले प्रयोग गर्न पाउने सुविधाको अधिकार’हो । कानूनबमोजिम सुविधाभारको व्यवस्था, अचल सम्पत्ति (जस्तैःघरजग्गा वा जग्गाजमिन, आदी) को धनी वा स्वामित्ववालाले सुविधाभारको व्यवस्थाबमोजिम आफ्नो अचल सम्पत्ति अर्को व्यक्तिलाई प्रयोग गर्न दिनुपर्छ । यसको व्यवस्था सार्वजनिक र वैयक्तिक दुवै प्रयोजनका लागि हुन सक्दछ ।अर्काको नाममा दर्तास्रेस्ता कायम रहेकै अचल सम्पत्ति भएपनि अति आवश्यकता, प्रकृति, प्रथा वा परापूर्वकालदेखि चलिआएको बाटो, निकास, कूलो पानीघाट, शवदाहस्थाल, आदि इत्यादी सार्वजनिक वा वैयत्तिक प्रयोजनमा सुविधाको उपभोगको वैधानिक अधिकार प्राप्त हुनु सुविधाभार हो । आवश्यकता भन्नाले दैवीविपत्तीको समयमा बचाउ र संरक्षणका लागि कसैको घर, जग्गा, बाली क्षेत्रमा प्रवेश नगरी उद्धार गर्न नसकिने अवस्थामा प्रवेश गर्नै पर्ने आवश्यकतालाई इङ्गित गर्दछ ।
सामान्य बोलीचालीको भाषामा अर्काको जग्गाबाट बाटो हिँड्ने अधिकार प्राप्त हुनु सुविधाधिकार हो । काठमाडौँको ऐतिहासिक प्राचीन बस्तीहरूमा घरको मुनिमुनि साना तथा लामो गल्ली बाटो रहेको पाइन्छ । जहाँ एक छिमेकी अर्काको घरको मुनिको बाटो सार्वजनिक रूपमा प्रयोग गर्छन् । त्यस्तै, पुरानो घना बस्ती घरको तलबाट पानीको मुहान, ढल रहेको देख्न पाइन्छ । यसलाई अर्का भाषामा बुझ्दा अर्काको जमिनमा कुनै उद्देश्यको निमित्त उपयोगको अधिकार प्राप्त हुनु सुविधाधिकार हो । यसमा हिँड्ने बाटो, ढल तथा पानीको निकास, नजिक जोडिएको जमिनबाट घरको झ्यालमा प्रकाश तथा हावा प्राप्त गर्ने इत्यादि पर्दछ ।विधिशास्त्रीय मान्यताबमोजिम सम्पत्तिमा दुई वटा अधिकार निहित रहेको हुन्छ । एउटा स्वामित्व र अर्का भोगाधिकार । कुनै पनि सम्पत्तिमा मालिकको स्वामित्व र भोगाधिकार दुवै रहेको हुन्छ । तर, मालिकले सो सम्पत्ति लिज वाभाडामा दिँदा स्वामित्व आफूसँगै रहन्छ तर भोग भाडावालालाई दिएको हुन्छ । सो बापत भाडा रकम प्राप्त गर्दछ । त्यस्तैगरी सम्पत्तिको मालिकको निश्चित सम्पत्तिमा भोगाधिकार प्राप्त गर्नु हो । सुविधाधिकार पाउने व्यक्तिले सो सम्पत्तिमा बिनामूल्य भोग गर्न सक्छ अर्थात् उपभोग गर्न सक्छ ।विधिशास्त्री साल्मण्डले यसलाई २ प्रकारमा व्याख्या गरेका छन् । पहिलो- निजी र दोस्रो- सार्वजनिक । निजी सुविधाधिकार निश्चित व्यक्तिमा निहित हुन्छ । जस्तै– बाटो, प्रकाश, घाम आदि पाउने वा दिनुपर्ने । सार्वजनिक सुविधाधिकार सार्वजनिक वा कुनै वर्गसम्म निहित हुन्छ ।
सुविधाभारको ऐतिहासिक विकासक्रम लामो छ । यसको विकासक्रम मानव समुदायको बस्ती विकाससँग भएको पाउन सक्छौँ । यसको सुरुवात रोमन कानुनबाट भएको हो । रोमन कानुनको प्रमुख स्रोतको रूपमा रहेको बाह्र दफाको कानूनको दफा ८ मा सुविधाभारको व्यवस्था गरिएको थियो । घर निर्माण गर्दा चारैतिर जमिन छोड्नुपर्ने, मूल बाटो फराकिलो हुनुपर्ने, घरआँगनको रुख ठुलो राख्न नहुने अर्ताथ् काट्नुपर्ने, जग्गाको साँध सिमानाबिचको झगडा मध्यस्थकर्ताको सहयोगमा समाधान गर्ने व्यवस्था गरेको थियो । यसलाई Jura in re alinea अर्थात् कसैको सम्पत्तिमाथिको अधिकार अर्को व्यक्तिमा निहित रहने अधिकारबुझिन्छ ।
रोमन कानुनको विकाससँगै सुविधाभारको विषय पनि विकास भएको मानिन्छ । त्यस्तैगरी भारतीय कानुन तथा मुस्लिम कानुनमा पनि यसको प्रयोग धेरै पहिलादेखि हुदै आएको छ ।कौटिल्यको अर्थशास्त्रमा घर निर्माण गर्दा छिमेकीलाई बाधा नहुने गरी मिलाई बनाउनुपर्ने, निकास बन्द हुने गरी बनाउन नहुने, भर्याङ्ग सिँढी बनाउँदा हिँड्ने मानिसलाई बाधा नहुने गरी बनाउने, पानी,ढलको निकास रोक्न नहुने, प्रकाशहावा आउने गरी बनाउनुपर्ने व्यवस्था थयो ।
नेपालमा सुविधाभारको प्रचलन सामाजिकरूपमा प्रचलित भए पनि कानुनी प्रारूप मुलुकी ऐन, १९१० बनेपश्चात् मात्र प्राप्त गरेको पाइन्छ । मुलुकी ऐन घर बनाउनेको महलमा घर बनाउँदा बलेनी अर्काको जग्गाधनीको रोक्न नहुने, सडकढल मिची घर बनाउन नहुने, मूल बाटोमा पानी खस्ने गरी डुँड राख्न नहुने, अघिदेखि चलिआएको वा दिइआएको ठाउँको कसैकोनिकास थुन्न नहुने, अघिदेखि नचलेको वा दिई नआएको ठाउँमा जबरजस्ती गरी लिन चलन गर्न पनि नहुने व्यवस्था गरेको थियो । यो नै नेपालमा गरेको सुरुवाती सुविधाभारसम्बन्धी कानुनी व्यवस्था थियो । यसले नेपालको तत्कालीन बस्ती, समुदायमा हुने वादविवाद, झगडाको समस्यालाई कानुनी समाधान दिन खोजेको भान हुन्छ ।
नेपालमा सुविधाभारसम्बन्धीकानुनी व्यवस्था
मुलुकी देवानी संहिता, २०७४ को दफा ३६८ देखि ३८२ सम्ममा सुविधाभारसम्बन्धी व्यवस्था छ । दफा ३६८ सुविधाभार (सर्भिच्युड्स) को व्यवस्था भएको मानिने : (१) कसैको हक, स्वामित्व वा भोगचलनमा रहेको कुनै अचल सम्पत्ति, यसको कुनै अंश अर्को सम्पत्तिको धनीले यस परिच्छेदबमोजिम भोगचलन वा प्रयोग गर्न पाउने भएकोमा सुविधाभारको व्यवस्था भएको मानिनेछ । (२) करार, अचल सम्पत्ति रहेको ठाउँको प्रकृति, प्रथा वा परापूर्वकालदेखि चलिआएको अभ्यासबमोजिम सुविधाभारको व्यवस्था कायम हुनेछ । यस संहिताअनुसार करार अचल सम्पत्ति रहेको ठाउँको प्रकृति, प्रथा वा परापूर्वकालदेखि चलिआएको अभ्यासबमोजिम हुनुका साथै अर्काको जग्गा जमीनमा कुनै उद्देश्यको निमित्त उपयोगको अधिकार प्राप्त हुनु सुविधाभार हो ।
मुलुकी देवानी संहिता, २०७४ आउनुअघि यससम्बन्धमा छुट्टै कानूनी व्यवस्था थिएन । तैपनि वि.सं. २०२० साल भाद्र १ गते भन्दाअधिको प्रचलित मुलुकी ऐनको‘घर बनाउनेको महल’ मा शहर वा गाउँमा घर बनाउँदा सडक, ढल, मिचिबनाउन नहुने, बाटोमा पानी खस्नेगरी हुँड राख्न नहुने, अघिदेखि चलिआएको वा दिइआएको ठाउँको निकास थुन्न नहुने जस्ता सुविधाभारसम्बन्धी व्यवस्था गरिएको थियो ।
दफा ३६८ बमोजिम सुविधाभारको व्यवस्था भएकोमा सम्बद्ध अचल सम्पत्तिको धनीले आफ्नो अचल सम्पत्ति अर्को व्यक्तिलाई भोग चलन वा प्रयोग गर्न दिनुपर्छ, दिन्न भन्न पाउँदैन । सार्वजनिक वा सामुदायिक प्रयोजनको लागि सुविधाभारको व्यवस्था भएकोमा त्यस्तो सुविधाभार वैयक्तिक प्रयोजनको लागि समेत प्रयोग गर्न सकिने व्यवस्था दफा ३६९ मा गरिएको छ । कुनै व्यक्तिले कसैको हक स्वामित्व वा भोगचलनमा रहेको कुनै अचल सम्पत्ति वा त्यसको कुनै अंश अर्को अचल सम्पत्तिको धनीले सुविधाभारको रूपमा प्रयोग गरेकोमासो सुविधाभार प्रदान गर्ने अचल सम्पत्तिको धनीले आफ्नो हक र स्वामित्वमा रहेको त्यस्तो सम्पत्ति पूरै वा केही अंश कसैलाई कुनै बेहोराले हस्तान्तरण गरे पनि अघि जसले सुविधाभार प्रयोग गरेको छ, त्यो सुविधाभारमा त्यस्तो हस्तान्तरणले कुनै असर पार्दैन त्यस्तो सम्पत्ति उपर रहेको सुविधाभारको व्यवस्था पूर्ववत् कायमै रहन्छ । जुन अचल सम्पत्तिमा सुविधाभार प्रदान गरिएको थियो, उक्त अचल सम्पत्तिको अंशियारबीच अंशबन्डा भएपनि प्रत्येक अंशियारले पहिले सुविधाभार प्रयोग गर्नेलाई पहिलेकै रूपमा सुविधाभार प्रयोग गरेको मानिन्छ र पूर्ववत् सुविधाभार प्रयोग गर्न पाउँछ। तर, सुविधाभार प्रदान गरेको अचल सम्पत्तिको हस्तान्तरण वा अंशबन्डा गर्दा त्यस्तो सम्पत्तिमा अन्यत्र सुविधाभारको व्यवस्था भइरहेको रहेछ भने त्यसरी जुन अचल सम्पत्ति हस्तान्तरण वा अंशबन्डा भई हक कायम भएको व्यक्तिको अचल सम्पत्तिबाट सुविधाभार दिनुनपर्ने रहेछ भने त्यो हदसम्म सुविधाभार समाप्त भएको मानिन्छ। यसरी अचल सम्पत्तिको हस्तान्तरणबाट सुविधाभारको व्यवस्थामा प्रतिकूल असर नपर्ने भन्ने व्यवस्था दफा ३७० मा गरिएको छ ।
दफा ३७१ को उपदफा (१)मा, कुनै जग्गामा कसैको हक, स्वामित्व वा भोगचलन भए पनि परापूर्वदेखि सार्वजनिक वा सामुदायिक रूपमा हिंडी आएको बाटो, पशु निकाल्ने निकास, वस्तुभाउ चराउने चौर, कुलो, नहर, पानीघाट, पोखरी, सार्वजनिक सडक, ढल, घोडेटो वा मूल बाटो, पाटी, पौवा, अन्त्येष्टिस्थल, मठ, मन्दिर, गुम्बा, चैत्य, मस्जिद, इदगाह, कर्वला, कब्रिस्तान वा गिर्जाघर, सामुदायिक विद्यालय, अस्पताल वा त्यस्तै प्रकारका सार्वजनिक स्थल जुन प्रयोजन लागि राखिएको हो सोही बमोजिम सम्बद्ध व्यक्तिलाई प्रयोग गर्न दिनुपर्छ। यस दफाको उपदफा (२) को व्यवस्था सार्वजनिक र सामुदायिक प्रयोजनका लागि गरिएको हो भने त्यो व्यवस्थालाई प्रतिकूल हुने गरी सुविधाभार प्रदान गर्ने जग्गाको स्वामित्ववाला वा भोगाधिकारवालाले त्यस्तो जग्गा आवाद वा कमोद गर्न, त्यसमा कुनै संरचना निर्माण, भोगचलनको विषय नहुने व्यवस्थागरिएको छ।
दैवी विपत्ति परेको बेलामा कसैको घरजग्गामा प्रवेश वा प्रयोग नगरी पीडितको उद्धार गर्न नसक्ने अवस्था आएमा त्यस्तो घरजग्गामा प्रवेश गरी उद्धार गर्न सकिन्छ। यस अवस्थामा सम्बद्ध घरजग्गाको स्वामित्ववाला भए निजको अनुमति लिई र नभए वा अनुमति नदिएमा निजको अनुमतिविना त्यस्तो घर जग्गामा प्रवेश गरी पीडितको उद्धार गर्न सकिन्छ । त्यसरी प्रवेश गर्दा हानिनोक्सानी भएमा त्यसको क्षतिपूर्ति दिनुपर्ने व्यवस्था पनि दफा ३७२ ले गरेको छ। कसैले पहिल्यैदेखि बाटो निकासको सुविधाभार प्रयोग गर्दै आएको घरजग्गामा दैवी प्रकोप परी बाटो विनाश हुन गएमा त्यस्तो घरजग्गामा आउजाउ गर्न पहिलेदेखि बाटो प्रयोग गरिरहेको व्यक्तिले सार्वजनिक बाटोसम्म पुग्ने उचित बाटोको सुविधाभार पाउँछ । जुन बाटो सार्वजनिक बाटोमा पुग्न सबैभन्दा नजिक हुन्छ, सोहीतर्फको घर वा जग्गाको स्वामित्ववालासँग मात्र त्यस्तो बाटोको सुविधाभार माग गर्न सक्नेछ भन्ने व्यवस्था दफा ३७३ ले गरेको छ ।
कसैले पनि बाटो वा निकासको व्यवस्था नगरी घरजग्गा हस्तान्तरण गर्नु हुँदैन। बाटो वा निकास भएको घर वा जग्गाको कुनै भाग छुट्याई हस्तान्तरण गर्दा लिने दिने दुवै पक्षलाई बाटो वा निकासको व्यवस्था गरेर मात्र हस्तान्तरण गर्नुपर्छ। त्यस्तो नगरी हस्तान्तरण गर्नु नहुने व्यवस्था दफा ३७४ मा गरिएको छ ।
कुनै व्यक्तिको घरमा ढल निकास, खानेपानी, विद्युत्, ग्यास, टेलिफोनजस्ता आधारभूत सेवा उपलब्ध गराउन आफ्नै जग्गा वा सार्वजनिक, सरकारी वा सामुदायिक जग्गाबाट सम्भव नभएमा निजले संधियारको जग्गाबाट त्यस्तो जग्गाको स्वामित्ववालालाई हानिनोक्सानी नहुने गरी पाइप वा लाइन लैजान पाउने व्यवस्था दफा ३७५ ले गरेको छ। कसैले आफ्नो घर वा जग्गाबाट निकास हुने वर्षाको पानीको व्यवस्थापन आफैले गर्नुपर्छ। तर, व्यवस्थापन गर्न नसकिने अवस्थामा प्राकृतिक रूपमा वर्षाको पानी जता बग्छ उतैतिर बग्न दिनुपर्छ । तर तल्लो पट्टिको जग्गामा प्रतिकूल असर पर्ने गरी कार्य गर्न नहुने व्यवस्था दफा ३७८ मा गरिएको छ। कसैको खेती गर्ने जम्गामा मानिस वा खेती गर्ने प्रयोजनका लागि सम्बद्ध जग्गाको धनीले खेत हुने व्यक्तिलाई खेती गर्न जाने बाटो वा निकासको सुविधा दिनुपर्नेछ भन्ने व्यवस्था दफा ३८० मा गरिएको छ
यसरी चल सम्पत्तिमा लागू नहुने, अचल सम्पत्ति रहेको ठाउँको प्रकृति, प्रथा वा परापूर्वकालदेखि चलिआएको अभ्यासबमोजिम हुने यो सुविधाभारसम्बन्धी व्यवस्था नेपालको सन्दर्भमा नयाँ हो। जसलाई मुलुकी देवानी संहिता, २०७४ ले स्पष्ट पारेको छ।
नेपालमा सुविधाभार सम्बन्धी नजिर
नेकाप २०४६, नि.नं. ३९५७, कान्छीविरुद्ध नारायणदास
निजी स्वामित्वको जमिनमाथि हुँदै राजमार्गसम्म जाने सार्वजनिक अधिकार लिखतमा बाटो उल्लेख नहुँदैमा सो जग्गाको प्रवेश मार्ग रहँदैन, दाबी गर्न मिल्दैन भन्नु कानुन सङ्गत हुँदैन । यो नजिरले सुविधाभारको सुविधा पाउन लिखत नै नचाहिने कुरा प्रस्ट गरेको तर पहिलादेखि प्रयोग गरेको हुनुपर्छ ।
नेकाप २०४४ , नि.नं. ३१५७, तेजमायाविरुद्ध गोविन्दलालसमेत
नगर पञ्चायतबाट नक्सा पास गर्दा ढल निकास नरोकिने सुरक्षा गरिएकोमा ढल निकासको कारणबाट जग्गामा नै हक प्राप्त हुन्छ भन्न मिल्दैन । निकास बहाल (Over flow) सम्मको हक प्राप्त हुन्छ । यो नजिरले कुनै जग्गामा कसैले सुविधाभारको उपभोग गरेको आधारमा जग्गामा पनि हक लाग्छ भन्न नपाउने प्रस्ट गरेको छ ।
नेकाप २०७९ नि.नं. १०९४४, साहव अहमदविरुद्ध कमल किशोर शदी समेतको सार्वजनिक बाटो कायम गरी पाऊँ भन्ने मुद्दामा परापूर्वकालदेखि प्रयोग गरेको बाटो कुनै विपदले नष्ट भई घरसम्म जाने अन्य कुनै बाटो नभएसम्म बाटोको सुविधाभार प्राप्त हुने । तर, आफ्नो घर जग्गा सिमाना बाटोसँग जोडिरहेको अवस्थामा व्यक्तिगत आर्थिक लाभका लागि मात्र अर्को व्यक्ति वा संस्थाको घरपेटीबाट बाटोको सुविधाभार प्राप्त हुने दाबी गर्न नमिल्ने नजिर स्थापित गरेको छ । यसरी आफ्नो घरसम्म पुग्ने कुनै विकल्प नभएमात्र बाटो सुविधाभार पाउने हो । अन्य आर्थिक वा व्यापारिक लाभको लागि सुविधाभारको सुविधा दिन जग्गा वा घर जग्गा धनी बाध्य हुँदैन ।
नेकाप २०६९, नि.नं. ८९२०, अङ्क ११, मुद्दा : भर्याङ बाटो कायम गरिपाऊँ
विधिशास्त्रीय मान्यतामा स्वामित्वको अभाव भए पनि निकासको सुविधाको दृष्टिले निरन्तररूपमा भोग चलन गरिरहेको बाटो भ¥याङ आदिलाई विशेषाधिकार (Servitude) को रूपमा लिइने हुँदा कुनै वस्तु एकाको स्वामित्वमा भए पनि निकास आदिमा सो वस्तुउपर अरुको कायम रहेको भोगाधिकारको हक सुनिश्चित हुने ।
नेकाप २०७६ नि.नं. १०३८६, जगतप्रसाद समेतविरुद्ध नइमुन नेसासमेत
दाताले बाटो निकास रहेको भनी लिखतमा उल्लेख गरेको बेहोरालाई पछि जग्गा खरिद गर्ने दातालाई पनि तथ्य बन्धनकारी हुने र बाटो निकासलाई अवरोध गर्न नमिल्ने भनी नजिर स्थापित भएको छ । यसले मुलुकी देवानी संहिता २०७४, दफा ३७० को अचल सम्पत्तिको हस्तान्तरणबाट सुविधाभारको व्यवस्थामा प्रतिकूल असर नपर्ने गरी गरेको प्रावधानलाई व्याख्या गर्दै कसैलाई कुनै व्यहोराले सम्पत्ति हस्तान्तरण गरेकोमा सो दफाअन्तर्गत खरिदबिक्री पनि पर्ने गरी व्याख्या गरेको देखिन्छ ।
साबिकबाट प्रयोग हुँदै आएको बाटो र सो सम्बन्धमा भएको करारबमोजिमको काम कारबाही अन्यथा बदर नभएसम्म जग्गाको हक हस्तान्तरण जुनसकै तरिकाले भए पनि दाताबाट भएको जग्गासम्बन्धी अघिल्लो कामकारबाहीहरू हक हस्तान्तरणबाट हक कायम हुन आएको जोसुकैले पनि मान्दिन भन्न पाउने नदेखिने । यसले सुविधाभार परापूर्वदेखि प्रयोग गरेको मात्र नभई करारबमोजिम पनि सविधाभार उपभोग गर्न सक्ने गरी दफा मुलुकी देवानी संहिता, २०७४ को दफा २६८ बमोजिम करारबमोजिम पनि सविधाभारको व्यवस्था कायम हुने मान्यतालाई न्यायिक व्याख्यामार्फत स्थापित गरेको देखिन्छ ।
लेखकः अधिवक्ता चन्द्रिका प्रसाद पटेल,
अध्यक्ष, बिरगंज स्कूल अफ ल, बिरगंज ।
सुविधाभारको परिचय, विकासक्रम र नेपालमा कानुनी व्यवस्था
https://drive.google.com/file/d/1Ec7QZzXPMEdULJwIsr43x-ubjDNYLfJS/view?usp=sharing