वीरगंज । नेपाल मुस्लिम पत्रकार संघ पर्साले नेपाल पत्रकार महासंघका केन्द्र, प्रदेश र जिल्लास्तरमा निर्वाचित पदाधिकारी तथा सदस्यहरूलाई सम्मान गरेको छ। वीरगन्ज महानगरपालिकाका उपप्रमुख इम्तियाज आलमले दोसल्ला र सम्मानपत्र प्रदान गरी सम्मान गरेका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख आलमले पत्रकारिता समाजको ऐना भएकाले क्षणिक स्वार्थमा लागेर गरिने पत्रकारिताले पेशागत विश्वसनीयतामा नकारात्मक प्रभाव पार्न सक्ने बताए। उनले राज्यका सही र गलत कार्य उजागर गर्ने दायित्व पत्रकारितामाथि रहेको र समाजले पनि पत्रकारलाई नै विश्वास गर्ने बताए। साथै, स्वर्गीय पत्रकार नेहाल खानका परिवारलाई सहयोग गर्ने प्रतिबद्धता जनाउँदै उनले खानका छोराको शिक्षासम्बन्धी खर्चमा सहयोग गर्ने घोषणा गरे।
शुभकामना मन्तव्य र सम्मान कार्यक्रम
नेपाल मुस्लिम पत्रकार संघ पर्साका अध्यक्ष मन्सुर मियाँको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रेस काउन्सिलका सदस्य लालबाबु शेख, नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछाने, मधेस प्रदेश अध्यक्ष श्याम बञ्जारा, र पर्सा अध्यक्ष ओमप्रकाश खनाललगायतले शुभकामना व्यक्त गरेका थिए।
सो कार्यक्रमको उद्घाटन उपप्रमुख इम्तियाज आलमले गमलामा पानी हालेर गरेका थिए। कार्यक्रममा नेपाल पत्रकार महासंघ पर्साकी उपाध्यक्ष निलिमा पौडेल, सचिव विजय चौहान, प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य निरज पिठाकोटे मगर, सशस्त्र प्रहरी नायब उपरीक्षक नरेन्द्र सिंह धामी, वडा प्रहरी कार्यालयका निरीक्षक निरोज चौलागाईंलगायत पत्रकारहरूको उपस्थिति रहेको थियो।
आर्थिक सहयोग हस्तान्तरण
कार्यक्रमको क्रममा स्वर्गीय पत्रकार नेहाल खानको परिवारलाई मुस्लिम पत्रकार संघको तर्फबाट ३१ हजार रुपैयाँ नगद हस्तान्तरण गरिएको थियो। यस सहयोगले परिवारलाई केही राहत मिल्ने विश्वास गरिएको छ।