वीरगञ्ज । पर्साको बहुदरमाई नगरपालिकाको समस्या समाधानका लागि मन्त्रीलाई दबाव दिन नेपाल शिक्षक महासंघले नेकपा एमाले पर्सालाई ज्ञापनपत्र बुझाएको छ ।
नगरपालिकाको शिक्षक, बालविकास सहयोगी कार्यकर्ता र कर्मचारीहरुले चालू आर्थिक बर्षको श्रावण महिना देखि हाल सम्म (६ महिना र चाडपर्व खर्च) ७ गहिनाको तलब भत्ता नपाएको र हाल विद्यालयको शैक्षिक गतिविधि बन्द रहेकोले सरोकारवाला शिक्षक, बालविकास सहयोगी कार्यकर्ता र विद्यालय कर्मचारीहरुको दैनिक दिनचर्या समेत अप्ठयारो भइरहेको भन्दै समस्या समाधानका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीलाई ध्यानाकर्षण गराउन महासंघले नेकपा एमाले पर्सालाई ज्ञापनपत्र बुझाएको हो ।
संघीय सरकारको नेतृत्व नेकपा एमालेले गरिरहेको,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री पनि नेकपा एमालेको भएकोले साथै मन्त्री पनि पर्सा जिल्लाकै र केही वडाहरू मन्त्री राजकुमार गुप्ताको क्षेत्रमा नै पर्ने भएकोले ज्ञापन पत्र बुझाएको नेपाल शिक्षक महासंघ पर्साका अध्यक्ष तीर्थराज यादवले बताए ।
शिक्षा विज्ञान तथा प्रविधि मन्त्री पनि नेकपा एमालेबाटै भएकोले सृजित समस्या समाधानमा एमाले जिम्मेवार हुनुपर्ने शिक्षक महासंघको धारणा छ । महासंघका पर्सा अध्यक्ष तीर्थराज यादवको नेतृत्वमा गएको टोलीले एमाले पर्साका अध्यक्ष डा.विश्वम्भर शर्मालाई कार्यालयमै ज्ञापनपत्र बुझाएको हो ।