वीरगञ्ज । नारायणी अस्पतालले विभिन्न १३ पदका लागि १४ जना कर्मचारी माग गरेको छ। अस्पताल प्रशासनले माघ ४ गते जारी गरेको एक सूचनामार्फत यो जानकारी सार्वजनिक गरेको हो।
अस्पतालका अनुसार चिकित्सक वा स्वास्थ्यकर्मी करार सेवामा व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०७६ तथा ‘स्तनपान परामर्श सेवा कार्यक्रम सञ्चालन सन्दर्भ सामग्री’को अधीनमा रही कर्मचारी माग गरिएको हो।
माग गरिएका पदहरूमा ग्याष्ट्रो सर्जन, प्याथोलोजिष्ट, एनेस्थेसियोलोजिष्ट, रेडियोलोजिष्ट, नेफ्रोलोजिष्ट, न्यूरोलोजिष्ट, जनरल फिजिसियन, चेष्ट फिजिसियन, कार्डियोलोजिष्ट, साइक्याट्रिष्ट, ग्यास्ट्रोइन्टेरोलोजिष्ट, मर्मत सम्भार टेक्निसियन र स्तनपान परामर्शकर्ता (२ जना) रहेका छन्।
स्तनपान परामर्शकर्ता युनिसेफको सहयोगमा नियुक्त गरिने पनि जनाइएको छ।
सूचना प्रकाशित मितिदेखि २१ दिनभित्र योग्यता पुगेका इच्छुक नागरिकले आवेदन दिन सक्नेछन्। नारायणी अस्पताल प्रशासनका अनुसार माग गरिएका पदहरूको विवरण र आवश्यक योग्यता अस्पतालको सूचना बोर्डमा उपलब्ध हुनेछ।
यो मागले नारायणी अस्पतालको सेवा प्रभावकारिता बढाउन र स्वास्थ्य सेवामा गुणस्तर सुधार गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।