वीरगंज | वीरगञ्ज महानगरपालिका वडा नम्बर ११ को आर्थिक सहयोगमा विपन्न, दलित, ज्येष्ठ नागरिक, असहाय, एकल महिला तथा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरिएको छ।
वडा अध्यक्ष अजयकुमार चौरसिया बरइको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा करिब ३०० भन्दा बढी व्यक्तिहरूलाई न्यानो कम्बल वितरण गरिएको छ। कार्यक्रममा लाभग्राहीहरूको विवरण तयार गरेर व्यवस्थित रूपमा वितरण गरिएको वडा सचिव उमेश शर्माले जानकारी दिनुभयो।
उहाँका अनुसार बिहान ८ बजेदेखि तीन चरणमा वितरण कार्यक्रम सञ्चालन गरिएको थियो। पाँच दिनअघि नै पत्राचार गरी आवश्यक तयारी पूरा गरिएकाले समयमा नै चिसो मौसममा सहयोग उपलब्ध गराउन सकिएको उहाँले बताउनुभयो।
वडा अध्यक्ष चौरसियाले वडाका कुनै पनि नागरिकलाई सहयोगबाट वञ्चित हुन नदिएको र सहज रूपमा राहत तथा सूचना उपलब्ध गराइएको उल्लेख गर्नुभयो।
कार्यक्रममा वडा सदस्य जगनलाल महतो, मुस्तकिम हावारीलगायतको उपस्थिति थियो। न्यानो कम्बल वितरणले चिसो मौसममा वडावासीलाई राहत पुर्याउन महत्वपूर्ण भूमिका खेलेको छ।