अबुजा । मध्य नाइजेरियाको नाइजर राज्यमा शनिबार भएको पेट्रोल ट्याङ्कर विस्फोटले ७० जनाको ज्यान गएको छ। फेडरल रोड सेफ्टी कोप्र्स (एफआरएससी) का प्रमुख कुमार सुक्वामका अनुसार ६० हजार लिटर पेट्रोल बोकेको ट्याङ्कर डिक्को जङ्क्शनमा दुर्घटनाग्रस्त भएपछि विस्फोट भएको थियो।
सुक्वामले बताएअनुसार, विस्फोटपछि धेरै पीडितहरू चिन्न नसकिने गरी जलेका थिए। “हामी घटनास्थलमा अनुसन्धान गरिरहेका छौं, थप जानकारी छिट्टै उपलब्ध गराउँछौं,” उनले एपी न्युजलाई बताएका छन्।
यो विस्फोटले नाइजेरियामा पछिल्लो समय देखिएको गम्भीर आर्थिक संकटलाई पनि उजागर गरेको छ। देशमा पछिल्ला १८ महिनामा पेट्रोलको मूल्य पाँच गुणा बढेकाले मानिसहरू आर्थिक रूपमा निकै प्रभावित भएका छन्।
दुर्घटनापछि उद्धारकर्मीहरू घटनास्थलमा पुगेर शवको पहिचान गर्ने र अनुसन्धानको काम गरिरहेका छन्। विस्फोटको प्रभाव यति भयानक थियो कि वरपरका मानिसहरूमा त्रास फैलिएको छ।
नाइजेरियामा यस्ता घटनाहरू प्रायः हुने गरेका छन्। कमजोर यातायात व्यवस्था र जोखिमपूर्ण तरिकाले पेट्रोल बोकेका सवारीसाधनहरूको कारण यस्ता दुर्घटनाहरू हुने गरेका हुन्। यसले सरकार र सम्बद्ध निकायहरूलाई सुरक्षा मापदण्ड कडा पार्न दबाब सिर्जना गरेको छ।
यस्ता घटनाबाट थप जनधनको क्षति रोक्नका लागि नाइजेरियाको सरकारले इन्धन ढुवानीका नियममा सुधार र सुरक्षा प्रविधिको प्रयोगमा जोड दिनुपर्ने देखिएको छ। यस दर्दनाक घटनाले पीडित परिवार र समग्र समाजलाई गहिरो चोट पुर्याएको छ।