वीरगञ्ज । पर्सा प्रहरीले वीरगञ्जबाट करिब १९५ किलो गाँजा बरामद गरेको छ। गाँजासहित ट्रक चालकलाई नियन्त्रणमा लिइएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक किशोर लम्सालले बरामद गरिएको गाँजाको परिमाण र पक्राउ परेका चालकको परिचय छिट्टै सार्वजनिक गरिने जानकारी दिए। उनले बरामद गाँजाको प्रारम्भिक सूचना सत्य भएको पुष्टि गर्दै सबै तथ्यहरु आधिकारिक रूपमा पुष्टी गरेपछि मात्र थप विवरण सार्वजनिक गरिने बताए।
स्रोतका अनुसार उक्त गाँजा भारततर्फ तस्करी गर्न लागेको अवस्थामा वीरगञ्ज महानगरपालिका क्षेत्रबाट बरामद गरिएको हो। प्रहरीले प्राप्त सूचनाका आधारमा ट्रक रोकेर चेकजाँच गर्दा ठूलो परिमाणमा गाँजा फेला पारेको हो।
गाँजा बरामदसँगै प्रहरीले लागूऔषध तस्करीमा संलग्न गिरोहको पहिचान र अनुसन्धान तीव्र बनाएको छ। प्रहरीले तस्करीमा प्रयोग भएको ट्रकलाई पनि नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ।
लम्सालले घटनाबारे थप जानकारी दिनका लागि पत्रकार सम्मेलन आयोजना गरिने बताउँदै लागूऔषध तस्करी रोक्न प्रहरीले कडा कदम चालिरहेको जानकारी दिए। साथै, उनले सीमा क्षेत्रमा निगरानी बढाइएको र तस्करी गतिविधिमा संलग्न व्यक्तिहरूमाथि कडा कारबाही हुने चेतावनी पनि दिए।
वीरगञ्जको यो घटनाले सीमावर्ती क्षेत्रमा लागूऔषध तस्करीको बढ्दो जोखिमप्रति गम्भीर ध्यानाकर्षण गराएको छ। सुरक्षा निकायले यस्ता गतिविधिलाई रोक्न स्थानीय जनतासँग सहकार्य गर्न पनि अपिल गरेको छ।