वीरगंज । अखिल (क्रान्तिकारी) विद्यार्थी संगठनको २३औँ राष्ट्रिय सम्मेलनका लागि मिरोज अहमदले केन्द्रिय सचिव (मुस्लिम) पदका लागि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्। अहमदले आफ्नो उम्मेदवारीको घोषणा गर्दै विद्यार्थीहरूको हकहित र संगठनलाई थप सशक्त बनाउनका लागि विविध योजना प्रस्तुत गरेका छन्।
उनले शिक्षा र उद्योगबीच सहकार्यलाई प्रवर्द्धन गर्ने, राजनीतिक क्षेत्रमा आम विद्यार्थीको सकारात्मक सोचको विकास गराउने र शिक्षा, स्वास्थ्य तथा रोजगारीसँग सम्बन्धित अधिकारहरूको कार्यान्वयनलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन्। साथै, उनले देशको यातायात प्रणालीलाई उच्च प्रविधियुक्त बनाउनका लागि विशेष पहल गर्ने योजना पनि प्रस्तुत गरेका छन्।
अखिल क्रान्तिकारी संगठनले विद्यार्थीहरूको हित र प्रगतिशील सोचलाई अघि बढाउने लक्ष्य राखेको छ। मिरोज अहमदको उम्मेदवारीलाई संगठनका अन्य सदस्यहरूले सकारात्मक रूपमा लिएका छन्। अबको सम्मेलनले विद्यार्थीहरूको हक र अधिकारलाई अझ मजबुत बनाउन योगदान गर्ने विश्वास गरिएको छ।