वीरगंज | पर्साको जीराभवानी गाउँपालिकामा ठूलो मात्रामा अवैध भारतीय ब्रोइलर कुखुरा बरामद भएको छ। प्रहरीले बरामद गरेका यी कुखुराहरू सार्वजनिक रूपमा नष्ट गरेको छ।
ईलाका प्रहरी कार्यालय, पटेर्वा सुगौलिबाट प्रहरी निरीक्षक प्रकाश थापाको नेतृत्वमा खटिएको टोलीले ६० वटा, करिब १५० किलोग्राम भारका प्रतिबन्धित ब्रोइलर कुखुरा नियन्त्रणमा लिएको हो।
महादेवपट्टीस्थित ओरिया खोलाको बाटो हुँदै भारतबाट अवैध रूपमा नेपाल भित्र्याउन लागिएको अवस्थामा उक्त कुखुराहरू बरामद गरिएको प्रहरीले जनाएको छ।
बरामद कुखुरालाई स्थानीय जनप्रतिनिधि र पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधिहरुको उपस्थितिमा महादेवपट्टी प्रहरी चौकीमा नष्ट गरिएको छ।
प्रहरीले अवैध व्यापार रोक्नका लागि निगरानी र कारबाहीलाई थप कडा बनाएको संकेत दिएको छ। अवैध रूपमा भारतबाट कुखुरा भित्र्याउन रोक लगाउन प्रहरीले आगामी दिनमा समेत यस्ता कारबाहीलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।