वीरगंज | पर्साको यातायात व्यवस्था कार्यालय सवारी शाखाको लेखा शाखामा व्यापक भ्रष्टाचारले सेवाग्राहीहरू मर्कामा परेका छन्। सेवाग्राहीहरूका अनुसार, बैंकमा राजस्व रकम बुझाएपछि रसिद लिन जाँदा अतिरिक्त शुल्क तिर्न बाध्य पारिने गरेको छ।
लेखा शाखामा कार्यरत सहायक कम्प्युटर अपरेटरहरू रमेश पटेल, लक्ष्मीनारायण कुशवाहा, सुजित झा, र बृजकिशोर यादवले प्रत्येक रसिदमा ५० देखि १०० रुपैयाँसम्म अतिरिक्त शुल्क लिने गरेका छन्। सेवाग्राहीहरूले बैंकको भौचरभित्र नगदी रकम राखेर बुझाउनुपर्ने परिस्थिति रहेको गुनासो गरेका छन्।
सूत्रका अनुसार, लेखा शाखाको कर्मचारीहरूको समूहले दैनिक करिब दुई लाख रुपैयाँसम्मको अवैध असुली गर्दै आएको छ। यस भ्रष्टाचारको योजनाकार लेखा अधिकृत दिनेश पडित रहेको र संकलित रकम लेखापाल सुरेन्द्र यादवसहित कर्मचारीहरूबीच बाँडफाँड हुने आरोप लागेको छ।
सेवाग्राहीहरूले गाडी दर्ता र ब्लुबुक जारी गर्नुपर्ने रकमसमेत कर्मचारीहरूले व्यक्तिगत रूपमा दुरुपयोग गरेको दाबी गरेका छन्। लेखा शाखामा राजस्व रकम मिलानमा अनियमितता भएको र सेवाग्राहीहरूको रकम कर्मचारीहरूको व्यक्तिगत खातामा जम्मा हुने गरेको विषयले थप विवाद उत्पन्न गरेको छ।
भ्रष्टाचार रोक्न नियमनकारी निकायहरूको मौनताले नागरिकहरू निराश भएका छन्। सचेत नागरिकहरूले लेखा शाखामा भइरहेको भ्रष्टाचारमाथि गहिरो छानबिन गरी दोषीमाथि कानूनी कारबाही गर्न माग गरेका छन्। सेवाग्राहीहरूले कार्यालयको साख बचाउन प्रभावकारी कदम चाल्न आग्रह गरेका छन्।