वीरगञ्ज । बाराको बिश्रामपुर गाउँपालिका वडा नम्बर ५ इटियाहिमा हुने धार्मिक महायज्ञको बाराका विभिन्न पालिकाका प्रमुखले निरीक्षण गरेका छन् । यही माघ २३ गतेदेखि २१ दिनसम्म हुन लागेको श्री श्री १००८ श्री महाशिवरात्रि महामहोत्सव महायज्ञ २०८१ श्री शिवशक्ति कोटिहोम महायज्ञको तयारी र यज्ञस्थलका बारेमा बारा जिल्लाका पालिकाका प्रमुखले निरिक्षण गरेका हुन् ।
महायज्ञ मुल व्यवस्थापन समितिका अध्यक्ष शिवशंकर प्रसाद यादवको अध्यक्षतामा भएको अवलोकन तथा निरीक्षणका अवसरमा बिश्रामपुर गाउँपालिकाका अध्यक्ष जुल्फकार अलि भुट्टो, कलैया उपमहानगरपालिकाका प्रमुख बिनोद साह, जितपुर सिमरा उपमहानगरपालिक प्रमुख राजन पौडेल, बारागढी गाउँपालिका अध्यक्ष अशोक जैसवाल, परवानीपुर गाउँपालिका अध्यक्ष रामक्षत्री पटेल, फेटा गाउँपालिका अध्यक्ष रुस्तम अंसारी लगायत विभिन्न पालिका प्रमुखले कार्यक्रम सफल बनाउन एकढिका भएर सहयोग गर्ने प्रतिबद्धता जनाए ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) मधेश प्रदेश कमिटिका सदस्य कृष्णा साहले पनि महायज्ञलाई सफल पार्न आवश्यक आर्थिक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
यही माघ १९ गते शोभा यात्रा निकाल्नुका साथै २३ गते जलयात्रा गरेर पूजा प्रारम्भ हुने महायज्ञ प्रचार प्रसार समितिका संयोजक राजकुमार सर्राफले जानकारी दिए । उनकाअनुसार २१ दिनसम्म पूजा हुनेछ भने एक महिनासम्म मेला लाग्नेछ । महायज्ञमा १ हजार ११ मुर्तीका साथै १२ ज्योत्रिलिङ्गको दर्शन गर्न पाइने उनले बताए ।
यस्तै आकर्षक एवम् आधुनिक झुलुवा, मोतका कुवाँ, माता वैष्णोदेवी गुफा दर्शन, खान, खाजाका विभिन्न परिकारसँगै लत्ताकपडा तथा अन्य व्यवसायिक एवम् मनोरञ्जनात्मक स्टल पनि महायज्ञमा हुनेछन् । भारत बनारसका आचार्यको नेतृत्वमा यहाँकै स्थानीय पण्डितहरुले पूजा गर्ने पनि प्रचारप्रसार समिति संयोजक सर्राफले जानकारी दिए ।
यसअघि २०६६ सालमा सोही स्थानमा मेला लागेको छ ।