पर्सा | सखुवा प्रसौनी गाउँपालिका–२ मा ह्युम पाइप राख्न खनिएको खाल्डोमा मोटरसाइकल खस्दा एक युवकको ज्यान गएको छ भने अर्का गम्भीर घाइते भएका छन्।
मंगलवार राति करिब ९ बजेको समयमा पथरैया–पचगावातर्फ जाँदै गरेको ना २८ प ३८१९ नम्बरको एफजेड मोटरसाइकल दुर्घटनामा परेको हो। दुर्घटनामा सखुवा प्रसौनी–२ जमुनियाका २३ वर्षीय सुदर्शन चौधरीको मृत्यु भएको छ।
घटनामा मोटरसाइकल चालक २४ वर्षीय दीपेन्द्र चौधरी गम्भीर घाइते भएका छन्। मोटरसाइकल खाल्डोमा खस्दा पछाडि सवार सुदर्शन गम्भीर घाइते भएका थिए। उनलाई तत्काल वीरगञ्जस्थित एलएस न्युरो अस्पताल पुर्याइएको भए पनि उपचारकै क्रममा मृत्यु भयो।
गम्भीर घाइते दीपेन्द्र चौधरीको सोही अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक प्रकाश थापाका अनुसार घटनाबारे अनुसन्धान जारी छ।
यो घटनाले सडक निर्माणका क्रममा सुरक्षा व्यवस्थापनको कमीलाई पुनः उजागर गरेको छ। खाल्डो खन्दा उचित संकेत र सुरक्षित व्यवस्थाको अभावले यस्ता दुर्घटना भइरहेको स्थानीयवासीको गुनासो छ।