पर्सा । जिल्ला पर्सा, पकहा मैनपुर गाउँपालिका वडा नं ४ खेश्राहा मुसहर बसन्ती टोलमा आज मिति २०८१ माघ १ गते मंगलवार दिउँसो करिब ३ बजेको समयमा शीतलहरका कारण जाडोबाट प्रभावित स्थानीयलाई राहत स्वरूप न्यानो कम्बल वितरण गरिएको छ।
समुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत जिल्ला पिउत व्यवस्थापन समिति पर्सा, ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्र आदर्शनगर १०, र रुङ्गटा वेलफेयर सोसाइटी वीरगञ्जको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको उपस्थितिमा कम्बल वितरण गरिएको हो।
रुङ्गटा वेलफेयर सोसाइटी वीरगञ्ज पर्साका अध्यक्ष सुरेश कुमार रुङ्गटाको अध्यक्षतामा आयोजित कार्यक्रममा स्थानीय जनप्रतिनिधि, नागरिक समाजका अगुवा, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघसंस्थाका पदाधिकारी, सञ्चारकर्मी, र स्थानीय गरी करिब ५०० जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा ७५ थान न्यानो कम्बल निःशुल्क वितरण गरिएको छ। शीतलहरका कारण बढेको चिसोले अल्पसंख्यक समुदायलाई थप समस्यामा पारेको अवस्थामा गरिएको यस सहयोगले स्थानीयलाई केही हदसम्म राहत मिल्ने विश्वास व्यक्त गरिएको छ।
कार्यक्रमको समापनमा आयोजक संस्थाहरुले आगामी दिनमा पनि यस्ता राहतका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।