वीरगंज । कृष्ण श्रीवास्तव । वीरगंजका व्यापारीहरू हाल गम्भीर आर्थिक समस्याको सामना गरिरहेका छन्। दिन प्रतिदिन बजारमा व्यापार घट्दै जाँदा सटरको भाडा तिर्ने र कर्मचारीहरूको तलब समयमा दिन नसक्ने अवस्था सिर्जना भएको छ। साथै, बैंकको ब्याज भुक्तानी गर्न नसक्दा व्यापारीहरूको आर्थिक स्थिति झन् कमजोर बन्दै गएको छ।
व्यापारमा आएको निरन्तर मन्दीका कारण पुराना व्यापारीहरू विस्थापित भइरहेका छन् भने नयाँ व्यवसायीहरू केही महिनामै धराशायी भइरहेका छन्। व्यापार सञ्चालनमा लाग्ने दैनिक खर्च धान्न कठिन हुँदा व्यवसायीहरूको मनोबल घट्दो छ। यस्तो अवस्थामा वीरगंजका व्यापारीहरू विभिन्न आर्थिक र प्रशासनिक समस्याहरूको चपेटामा परेका छन्।
खुला सीमाना र भारतीय बजार रक्सौलको प्रभावले वीरगंजका व्यवसायीहरूको समस्यालाई झन् गहिरो बनाएको छ। उपभोक्ताहरू सस्तो मूल्य र विविधताका लागि भारतीय बजारतर्फ आकर्षित हुँदा स्थानीय बजार ग्राहकविहीन बन्न पुगेको छ। यस प्रवृत्तिले वीरगंजको व्यापारमा ठूलो नकारात्मक प्रभाव पारेको छ।
महानगरपालिकाले व्यापारीहरूको समस्या समाधान गर्न केही पहलहरू गरे पनि ती प्रयासहरू प्रभावकारी हुन नसकेको व्यापारीहरूको गुनासो छ। पर्वहरूलाई लक्षित गर्दै रात्रि बजार सञ्चालनको योजना ल्याइएको थियो, जसले केही समयका लागि मात्र आर्थिक गतिविधिलाई चलायमान बनाएको थियो। तर प्रशासनले राति ९ बजे नै बजार बन्द गराउने नीतिले व्यापारीहरूलाई थप निराश बनाएको छ। एक-दिने रात्रि बजारको व्यवस्थाले दीर्घकालीन समाधान दिन नसक्ने भन्दै व्यवसायीहरूले बजार सञ्चालन समय बढाउन माग गरेका छन्।
स्थानीय व्यापारीहरूले खुला सीमाना व्यवस्थापन, कर प्रणाली सुधार, र स्थानीय उत्पादनलाई प्रतिस्पर्धी बनाउन दीर्घकालीन नीति लागू गर्न सरकार र सम्बन्धित निकायलाई आग्रह गरेका छन्। वीरगंजका व्यवसायीहरू समस्या समाधानका लागि ठोस नीति र योजनाको अपेक्षा गरिरहेका छन्। यस्ता समस्याको दीर्घकालीन समाधान नगरिए, व्यापारमा मन्दी अझै गहिरो संकट निम्त्याउने देखिन्छ।