वीरगंज | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेका विषयमा जिल्ला अदालत काठमाडौँमा आज थुनछेक बहस हुँदै छ। काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दाको प्रतिवाद गर्न लामिछाने आइतबार बिहानै जिल्ला अदालत पुगेका थिए।
त्यही दिन दिउँसो न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा उनको बयान सकिएको थियो। तर समय अभाव भन्दै न्यायाधीश अधिकारीले उनलाई न्यायिक हिरासतमा पठाउन आदेश दिए।
लामिछाने जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा छन्। अब आज थुनछेक बहस हुने जिल्ला अदालत काठमाडौँका सूचना अधिकारी अमरबहादुर चन्दले जानकारी दिए।
बहस सकिएपछि लामिछानेलाई थुनामा पठाउने वा साधारण तारेख अथवा धरौटीमा रिहा गर्ने भन्ने आदेश अदालतबाट आउनेछ।
पोखराको सूर्यदर्शन सहकारीको मुद्दामा ६५ लाख धरौटी बुझाएर पुस २५ गते थुनामुक्त भएपछि २६ गते साँझ काठमाडौँ आइपुगेका रवि आइतबार अदालतमा आफैँ उपस्थित भएका हुन्।
रविविरुद्ध काठमाडौँ जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख रामहरि शर्मा काफ्ले र जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवालले बहस गर्ने तयारी छ भने रविका पक्षबाट पूर्वन्यायाधिवक्ताद्वय रमन श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन्।