वीरगञ्ज। नेपाली राष्ट्रिय महिला क्रिकेट टिमले आगामी जनवरी ३० देखि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा हुने त्रिदेशीय ट्वान्टी–२० शृङ्खलामा प्रतिस्पर्धा गर्नेछ।
नेपाल क्रिकेट संघ (क्यान)ले शनिबार सार्वजनिक गरेको तालिका अनुसार शृङ्खलामा नेपालसँगै थाइल्यान्ड र नेदरल्यान्ड्सका महिला क्रिकेट टिम सहभागी हुनेछन्। तीन टिमले एकअर्काविरुद्ध तीन-तीन खेल खेल्नेछन्।
शृङ्खलाको उद्घाटन खेल जनवरी ३० मा नेपाल र नेदरल्यान्ड्सबीच हुनेछ। जनवरी ३१ मा नेपालले थाइल्यान्डको सामना गर्नेछ। त्यसपछि फेब्रुअरी २ मा नेदरल्यान्ड्ससँग र फेब्रुअरी ३ मा थाइल्यान्डसँग खेल्ने तालिका छ। नेपालले आफ्नो अन्तिम दुई खेल फेब्रुअरी ५ र ६ मा क्रमशः नेदरल्यान्ड्स र थाइल्यान्डसँग खेल्नेछ।
सबै खेलहरू मध्याह्न १२:१५ बजे सुरु हुनेछन्।
यो शृङ्खलालाई नेपाली महिला क्रिकेट टिमका लागि अन्तर्राष्ट्रिय अनुभव र घरेलु मैदानमा आफ्नो क्षमता प्रदर्शन गर्ने ठूलो अवसरका रूपमा हेरिएको छ। थाइल्यान्ड र नेदरल्यान्ड्स जस्ता बलिया टोलीहरूसँगको प्रतिस्पर्धाले नेपाली खेलाडीहरूको कौशललाई थप परिष्कृत गर्ने विश्वास क्यानले व्यक्त गरेको छ।
घरेलु मैदानमा खेल्दा समर्थकहरूको साथले खेलाडीहरूको मनोबल उच्च बनाउने अपेक्षा गरिएको छ। यसले नेपाली क्रिकेटप्रति युवा पुस्ताको रुचि र प्रेरणा बढाउने विश्वास लिइएको छ।
क्यानले दर्शकहरूलाई खेलमैदानमा उपस्थित भई खेलाडीहरूलाई हौसला प्रदान गर्न आग्रह गरेको छ।