वीरगञ्ज। थारू समुदायले यस वर्ष पनि थारू सम्वत २६४९ को माघी पर्व भव्य रूपमा मनाउने तयारी गरेको छ। माघी मूल समारोह समितिले थारू छात्रावासमा पत्रकार सम्मेलन गरी कार्यक्रमको जानकारी दिएको हो।
थारू कल्याणकारी सभाका केन्द्रीय पार्षद नन्दकिशोर पञ्जियारका अनुसार माघ १ गते घण्टाघरबाट थारू परम्परागत भेषभूषा र झाँकीसहितको र्याली निकालिनेछ। र्याली नगरका मुख्य सडक हुँदै आदर्शनगर चोकबाट स्वीमिङ पुलसम्म पुगेर विशेष कार्यक्रम आयोजना गरिनेछ।
पञ्जियारले यस वर्ष माघीको अघिल्लो दिन पावरहाउसबाट मोटरसाइकल र्यालीको समेत आयोजना गरिने जानकारी दिए। गत वर्ष आदर्शनगरको पुरानो बसपार्कमा कार्यक्रम गरिएको भए पनि यस वर्ष कार्यक्रम पुनः स्वीमिङ पुलमा गरिने भएको छ।
आर्थिक व्यवस्थापन संयोजक परमानन्द चौधरीका अनुसार कार्यक्रमलाई भव्य बनाउन विभिन्न सांस्कृतिक झाँकी र स्थानीय कलाकारहरूको प्रस्तुति समावेश गरिनेछ।
पत्रकार सम्मेलनमा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) मधेस प्रदेशका इञ्चार्ज निरज पिठाकोटे मगर, प्रकाश थारू फाउन्डेशनका प्रकाश थारू, किरात राई यायोक्खाका केन्द्रीय सदस्य जगत राई, र थारू पत्रकार संघका शम्भु महतो थारूको उपस्थिति थियो।
थारू छात्रावासका अध्यक्ष शेखर चौधरीले यस कार्यक्रमले थारू समुदायको परम्परा र संस्कृतिलाई उजागर गर्न मद्दत गर्ने बताए। कार्यक्रमको सहजीकरण मेलमिलाप थारू परिवारका मनोज चौधरीले गरेका थिए।
थारू समुदायको यो परम्परागत पर्वले सांस्कृतिक पहिचानको संरक्षण गर्दै वीरगञ्जमा विविधतापूर्ण वातावरण सिर्जना गर्ने अपेक्षा गरिएको छ।