वीरगंज | मकवानपुरको मनहरी गाउँपालिका–६ मा शनिबार भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने १४ जना घाइते भएका छन्। बागमती प्रदेश ०१–०२६ च ५२५० नम्बरको स्कार्पियो र बा १६ च ८३२४ नम्बरको कार ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा कार चालक हेटौँडा–४ का ६० वर्षीय सुरेन्द्रलाल श्रेष्ठको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। चितवन, राप्ती नगरपालिका–२ की ५० वर्षीया सुनिता श्रेष्ठको उपचारका क्रममा ज्यान गएपछि मृतकको सङ्ख्या दुई पुगेको छ।
स्कार्पियो चालक रौतहटका किशन जयसवाल फरार रहेको र उनको खोजी भइरहेको मकवानपुर प्रहरीका प्रवक्ता डिएसपी श्यामु अर्यालले बताए।
घाइतेहरूमध्ये चितवन र वीरगञ्जका अधिकांश रहेका छन्। घाइतेहरूमा चितवनका ओमकुमार श्रेष्ठ, सुमिना श्रेष्ठ, र वीरगञ्जका पूजा देवी शाह, प्रियान्सी शाह, निशाकुमारी शाह, सुरदी देवी, ओम शङ्कर साह, राजिवकुमार साह, आरती कुमारी साह, दिव्याकुमारी साह, सरोज शर्मा, र रोशनी शर्मा रहेका छन्।
सबै घाइतेलाई चितवनको भरतपुर अस्पताल पठाइएको छ। उनीहरूको हात, खुट्टा र शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको छ।
दुर्घटनाको अनुसन्धान जारी रहेको र फरार चालकको खोजी भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। सवारी साधन चलाउँदा सावधानी अपनाउन सबैमा अनुरोध गरिएको छ।