बारा । मधेस प्रदेश सरकारले बारा जिल्लाको प्रसौनी गाउँपालिका-५ स्थित किरकिचाहा नदीमा पक्की पुल निर्माणका लागि निरीक्षण सम्पन्न गरेको छ।
लोसपा मधेस प्रदेश अध्यक्ष माननीय जितेन्द्र सोनलको सिफारिसमा गरिएको यस निरीक्षणमा लोसपा बारा सचिव रामबाबु सोनल, पूर्व गाउँपालिका अध्यक्ष भोलाप्रसाद गुप्ता, पूर्व वडा अध्यक्ष सनैत साहसहितका स्थानीय नेताहरू सहभागी थिए।
पुल निर्माणले ग्रामीण भेगका जनता र कृषकहरूलाई बारा जिल्लाका प्रमुख स्थानहरूसँग प्रत्यक्ष रूपमा जोड्ने अपेक्षा गरिएको छ। यसले परवानीपुर गाउँपालिकाको परवानीपुर बजार, जितपुर सिमरा उपमहानगरपालिकाको नितनपुर र जितपुर क्षेत्रसम्म आवागमन सहज बनाउनेछ। साथै, जिल्लाको सदरमुकाम कलैयासम्मको पहुँच पनि सरल हुनेछ।
पुलले स्थानीय बासिन्दाको आर्थिक, सामाजिक, र भौतिक जीवनस्तर सुधार्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। ग्रामीण कृषकहरूलाई बजारसम्म पहुँच गर्न सहज हुने भएकाले कृषि उत्पादन र व्यापारमा समेत सकारात्मक प्रभाव पर्ने अपेक्षा छ।
प्रदेश सरकारको सक्रियता र स्थानीय जनताको सहकार्यमा निर्माण कार्य शीघ्र सुरु गरी समयमै सम्पन्न गर्न विशेष ध्यान दिइने बताइएको छ। यो परियोजनाले क्षेत्रीय विकासमा नयाँ आयाम थप्ने विश्वास स्थानीयले व्यक्त गरेका छन्।