वीरगन्ज। वीरगन्ज कपडा बैंकले आज वीरगन्जको शान्तिटोलमा नि:शुल्क कपड़ा वितरण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। बैंकले प्रत्येक हप्ता आइतबारदेखि शुक्रवारसम्म बिहान १०.३० देखि ५ बजे सम्म आफ्नो कार्यालय, वीरगन्ज-८ बाट गरीब र असहायलाई निशुल्क कपड़ा वितरण गर्दै आएको छ। यसैक्रममा, शुक्रबार वीरगन्ज महानगरका वडा १ र २ स्थित शान्तिटोलमा करिब ५५० थान नयाँ र पुराना कपड़ा वितरण गरिएको बैंकका सचिव कन्हैया पटेलले जानकारी दिए।
कार्यक्रमको अध्यक्षता वीरगन्ज कपडा बैंकका अध्यक्ष लालबाबू सिंहले गरेका थिए। प्रमुख अतिथि वरिष्ठ समाजसेवी अधिवक्ता सुरेन्द्र प्रसाद कुर्मि रहेका थिए, साथै सल्लाहकारद्वय अधिवक्ता प्रकाश उपाध्याय र ओम प्रकाश सराफ, वीरगन्ज महानगर वडा १ र २ का वडासदस्य संगीता भुजेल, रम्भा देवी, बसिर मिया, रमावती देवी, सामुदायिक प्रहरी छपकैयाका अध्यक्ष ग्यासुदिन ठकुराई लगायत अन्य समाजसेवी र बैंकका सदस्यहरू पनि उपस्थित थिए।
अधिवक्ता कुर्मिले सो अवसरमा भनें, “हामीले ६ वर्षदेखि ‘जो संग धेरै कपडा छ दिएर जानुस र नहुने वा आवस्यकता हुनेले निशुल्क लिएर जानुस’ भन्ने उद्देश्यका साथ सेवाप्रधान कार्य गर्दै आएका छौं।” उनले सामाजिक सेवामा हरेक व्यक्तिले आफ्नो आम्दानीको ५ देखि १० प्रतिशत खर्च गर्ने बानी बसाल्नुपर्ने आवश्यकता औंल्याए।
अध्यक्ष लालबाबू सिंहले बढ्दो जाडो र शीतलहरका कारण गरिब र असहायहरूको जीवन कष्टकर हुने भएकाले यस किसिमको सेवा अधिक महत्त्वपूर्ण भएको बताए। उनले कपडा बैंकमार्फत हुने सहयोगको महत्त्व र यसमा सहभागी दाताहरूसम्म आभार व्यक्त गरे।
यस कार्यक्रममा कपडा वितरणको साथै अन्य सामाजिक सहयोगका पहलहरू पनि भएका थिए।