वीरगंज | नयाँ वर्षको पहिलो दिन ठोरी गाउँपालिका पर्यटकले भरिभराउ बनेको छ। विशेषगरी भारतका विभिन्न सहरबाट ठोरीमा आउने भारतीय पर्यटकको संख्यामा उल्लेख्य वृद्धि भएको छ। ठोरी जंगल रिसोर्टका सञ्चालक धिर सिंहका अनुसार भारतीय पर्यटकले ठोरीका होटल खचाखच भरिएका छन्। “नयाँ वर्षको अवसरमा भारतीय पाहुनाको चापसँगै हामीलाई भ्याईनभ्याई छ,” उनले भने। ठोरी अहिले पर्यटकका लागि वर्षभर खुला रहने गन्तव्य बनेको छ।
ठोरी गाउँपालिकामा पर्यटकलाई आकर्षित गर्ने झण्डै ५० ठाउँहरू छन्। राई धारा, सेतो पहाड, गोले डाँडा, रानीवन, अमृत धारा, सीतागुफा, वनशक्ति मन्दिर, बाघमोर्चा मन्दिरजस्ता स्थानमा स्वदेशी र विदेशी पर्यटक जाने गर्छन्। त्यस्तै, भ्युटावरबाट सूर्योदय र सूर्यास्तको मनमोहक दृश्य हेर्न पर्यटक आकर्षित हुन्छन्। ठोरी तीनवटा राष्ट्रिय निकुञ्जको संगमस्थल हो, जहाँ वन्यजन्तु र वनस्पतिको अध्ययन तथा अवलोकनका लागि प्रकृति प्रेमीहरू आउँछन्।
भारतीय पर्यटक मुख्यत: जमुनिया, नरकटियागञ्ज, रामनगर, रक्सौल, सुगौली, मुजफ्फरपुर र पटनाजस्ता स्थानबाट ठोरीमा आउने गरेका छन्। यो क्षेत्र नेपाल-भारत सीमावर्ती इलाकामा रहेको हुनाले दुई देशका पर्यटकहरूका लागि सजिलो गन्तव्य बनेको छ। ठोरीको पर्यटन प्रवर्द्धनले सीमा क्षेत्रका व्यापार र अन्य व्यवसायलाई पनि चलायमान बनाएको छ।
नयाँ वर्षको समयमा ठोरी मात्र नभई वीरगञ्ज र पर्सागढीमा पनि पर्यटकको चहलपहल देखिएको छ। होटल तथा पर्यटन व्यवसायी संघ वीरगञ्जका अध्यक्ष हरि पन्तका अनुसार वीरगञ्जका ५० भन्दा बढी होटलमा ६० प्रतिशतको हाराहारीमा पाहुना बसेका छन्। वीरगञ्जको धार्मिक तथा ऐतिहासिक स्थलहरू जस्तै शंकराचार्य द्वार, गहवामाई मन्दिर, घडीअर्वा पोखरी, पशुपतिनाथ मन्दिर र विन्दवासिनी मन्दिरमा स्वदेशी तथा भारतीय पर्यटकको भिड देखिएको छ।
पर्सागढी नगरपालिकामा पनि नयाँ वर्षका अवसरमा आन्तरिक पर्यटकको उल्लेख्य उपस्थिति देखिएको छ। पर्सागढी नगरपालिकाका प्रमुख गोकर्ण पाठकका अनुसार यस क्षेत्रका ऐतिहासिक स्थलहरूको प्रचारप्रसारले पर्यटकको चाप बढेको हो। पुस १९ गते पर्सागढीमा आयोजना हुने २१०औँ विजय महोत्सवले थप पर्यटक आकर्षित गर्ने अपेक्षा गरिएको छ।
ठोरीमा पछिल्लो समय स्तरीय होटल तथा रेष्टुरेन्टहरू सञ्चालनमा आएपछि पर्यटकलाई थप सुविधा मिलेको छ। अहिले ठोरीमा छवटा स्तरीय होटल सञ्चालनमा छन्, जसले स्वदेशी र विदेशी पर्यटकको आवश्यकता पूरा गरिरहेका छन्। सुवर्णपुरमा मधेश प्रदेशको पहिलो घरबास (होमस्टे) पनि सञ्चालनमा रहेको छ।
अध्यागमन कार्यालयका अनुसार वीरगञ्ज नाकाबाट २०२४ मा मात्र दुई हजार ८६ जना भारतीय पर्यटक नेपाल प्रवेश गरेका छन्। सन् २०२३ मा यो संख्या दुई हजार ४१ मात्र थियो। यद्यपि, औपचारिक रूपमा नेपाल प्रवेश गर्ने भारतीय पर्यटकको संख्या अझै कम छ।
ठोरी र वरपरका क्षेत्रहरूमा पर्यटकको वृद्धि हुनुले नेपालको पर्यटन क्षेत्रमा सकारात्मक प्रभाव पारेको छ। पर्यटन व्यवसायी सिंहका अनुसार ठोरीका होटल र रेष्टुरेन्टमा व्यवसायले फड्को मारेको छ। पर्यटकीय स्थलहरूको स्तरोन्नति र प्रचारप्रसार गर्न सकेमा ठोरीले नेपालको पर्यटन क्षेत्रलाई थप योगदान गर्न सक्छ।
नयाँ वर्षको रौनकले ठोरी र यस क्षेत्रका पर्यटकलाई न्यानो स्वागत गरेको छ। भारत र नेपालबीचको सांस्कृतिक र पर्यटन सम्बन्धलाई थप मजबुत बनाउन ठोरी एक सशक्त माध्यम बन्न सक्छ।