कलैया | देवताल गाउँपालिका वार्ड नं. १ का वार्ड अध्यक्ष अरुण सिंह हाल मोटरसाइकल दुर्घटनापछि मेरुदण्ड क्र्याक भई कलैयास्थित ए प्लस अस्पताल एण्ड ट्रमा सेन्टरमा उपचाररत छन्। करिब एक हप्ता पहिले वीरगञ्जबाट कलैया जाँदै गर्दा भएको दुर्घटनामा उहाँ गम्भीर घाइते हुनुभएको हो।
उपचारमा रहेर पनि अध्यक्ष सिंह जनता सेवामा सक्रिय देखिनु भएको छ। जनताको कामकाजमा निरन्तरता दिनु भएको सिंहलाई “यति पीडामा पनि काम गर्दै हुनुहुन्छ, किन?” भनेर सोध्दा उहाँले भने, “यो मेरो व्यक्तिगत पीडा हो, यसलाई सहन सक्छु। तर, जनताको काम म श्वास चलुन्जेलसम्म गरिरहनेछु।”
अध्यक्ष सिंह २०७२ सालको मधेस आन्दोलनका क्रममा निकै सक्रिय भूमिकामा थिए। नागरिक अधिकार, स्वाभिमान, र सम्मानका लागि लड्दा उहाँले जेल जीवनसमेत व्यतीत गर्नुपरेको थियो। जनताको सेवा र समस्याको समाधान गर्नु नै आफ्नो पहिलो प्राथमिकता रहेको उहाँको मान्यता हो।
पीडामा हुँदा पनि जनताको सेवामा निरन्तर लाग्ने उहाँको इच्छाशक्ति र प्रतिबद्धता सबैका लागि प्रेरणादायी बनेको छ।