वीरगञ्ज | पर्सा जिल्लाको सखुवाप्रसौनी गाउँपालिकामा नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको पार्टी प्रवेश कार्यक्रममा कालो झन्डा प्रदर्शन गरेको आरोपमा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का कार्यकर्ताहरूलाई रिहा गरिएको छ।
रिहाइ पछि राप्रपाका नेताहरूले फूलमाला र टिका लगाएर कार्यकर्ताहरूको भव्य स्वागत गरेका छन्। रिहा भएका कार्यकर्तामा सखुवाप्रसौनी गाउँपालिका – २, श्रीपुर पचंगावाका सञ्जय महतो थारु, सञ्जय चौधरी र राजेन्द्र आचार्य रहेका थिए। उनीहरूलाई कालो झन्डा प्रदर्शनपछि सुरक्षाका कारण प्रहरीले नियन्त्रणमा लिएको थियो।
रिहा पछि आयोजित स्वागत कार्यक्रममा राप्रपाका नेताहरूले वर्तमान सरकारले अभिव्यक्तिको स्वतन्त्रतामाथि आक्रमण गरेको आरोप लगाए। उनीहरूले लोकतान्त्रिक मुलुकमा नागरिकलाई विरोध र असन्तुष्टि प्रकट गर्न पाउनु स्वाभाविक अधिकार भएको बताएका थिए।
कार्यक्रममा सहभागी नेताहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारलाई निरङ्कुश भन्दै आलोचना गरे। “यो सरकार लोकतान्त्रिक मूल्य र मान्यताप्रति संवेदनशील छैन,” एक नेताले भने।
राष्ट्रिय प्रजातन्त्र पार्टीका कार्यकर्ताहरूले ओलीमाथि देशलाई आर्थिक सङ्कटमा पार्ने र राजनीतिक अस्थिरता सिर्जना गरेको आरोप लगाए। प्रहरीका अनुसार, तीन जनालाई पक्राउ गरिएको भए पनि कुनै ठूलो अप्रिय घटना भएको थिएन।
यो घटनाले पर्सा जिल्लाको राजनीतिक वातावरणलाई तताएको छ र अभिव्यक्तिको स्वतन्त्रता र सरकारप्रति असन्तुष्टि प्रकट गर्ने विषयमा नयाँ बहस सुरु भएको छ।