वीरगन्ज। लायन्स क्लब अफ सेन्ट्रल सिटी वीरगन्जले वीरगन्ज कपडा बैंकलाई १० झोला कपडा सहयोग गरेको छ। क्लबका अध्यक्ष डा. लक्ष्मी थापाको नेतृत्वमा उक्त कपडाहरू बैंकका अध्यक्ष लालबाबु सिंहलाई हस्तान्तरण गरियो।
यस अवसरमा क्लबका उपाध्यक्ष सुशिला साह, सचिव देवन्ती साह, कोषाध्यक्ष कविता खड्का, सदस्य सुगन्धी कुशवाहा र अनामिका मिश्राका साथै वीरगन्ज कपडा बैंकका सल्लाहकार अधिवक्ता प्रकाश उपाध्याय, सचिव कन्हैया पटेल, सदस्य निला राम र अभिलाष गुप्ता एवं कर्मचारी शोभा देवीको उपस्थिति थियो।
डा. थापाले वीरगन्ज कपडा बैंकले विगतका वर्षदेखि बाढी, आगलागी पीडित र असहायलाई प्रदान गर्दै आएको निःस्वार्थ सेवाको प्रशंसा गर्दै बैंकलाई आगामी दिनमा थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। “बिपन्न र असहायले चाडपर्वको समयमा नयाँ कपडा किन्न नसक्ने अवस्थालाई ध्यानमा राख्दै हामीले यस कार्यमा हातेमालो गरेका हौं,” उनले बताए।
कपडा बैंकका सल्लाहकार प्रकाश उपाध्यायले “तपाईंसँग धेरै छ भने दिनुस्, केही छैन भने लिनुस्” भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै सेवा प्रवाह गर्दै आएको जानकारी गराए। उनले बैंकले पर्सा र बाराका विभिन्न स्थानहरूमा विगत ६ वर्षदेखि सेवा दिँदै आएको र थप सहयोगी हातहरूको अपेक्षा गरिएको बताए।
बैंकका अध्यक्ष लालबाबु सिंहले लायन्स क्लबले विगतमा विभिन्न सेवामूलक कार्य गर्दै आएको स्मरण गर्दै न्यानो कपडा सहयोगका लागि सबैलाई आह्वान गरे। “जाडो बढ्दै गएकोले कम्बल, शाल, ज्याकेट, स्वेटर, इन्नरजस्ता कपडाको खाँचो छ। सबै सहयोगी हातहरूले मानवताको सेवा गरिदिनुहोस्,” उनले अपिल गरे।
यो कदमले सामुदायिक सेवामा नयाँ आयाम थपेको छ।