वीरगंज | शौच गर्न गएकी युवतीमाथि हात र खुट्टा बाँधेर सामूहिक बलात्कार, एक भारतीयसहित तिन जना पक्राउ
मोरङको कटहरी गाउँपालिकामा २२ वर्षीय युवतीमाथि भएको जबरजस्ती करणीको घटनामा संलग्न रहेको आरोपमा तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा कटहरी गाउँपालिका–२ निवासी २० वर्षीय मोहम्मद रमजान, १९ वर्षीय सुनिल कुमार साह, र भारतको बिहार राज्यस्थित अररिया जिल्लाको कुसकिट्टा ग्राम पञ्चायत–९ निवासी १८ वर्षीय मोहम्मद गुल्जर रहेका छन् । गुल्जर हाल कटहरीमै एक ग्यारेजमा काम गर्दै आएका थिए ।
घटना पुस ९ गते राति मोरङको जहदा गाउँपालिका–३ निवासी युवतीमाथि भएको हो । प्रहरीका अनुसार बिहान करिब साढे चार बजे शौच गर्न गएकी युवतीलाई तिनै जना अभियुक्तहरूले पछाडिबाट मुख थुनेर सिटी सफारीमा राखी घरबाट झन्डै तीन किलोमिटर उत्तर–पूर्वस्थित बाँस घारीमा लगेर बलात्कार गरेका थिए ।
पीडितले बताएअनुसार घटना पछि अभियुक्तहरूले उनलाई कालो सारीको कपडाले हातखुट्टा बाँधेर, मुखमा कपडा कोचेर घटनास्थलमै छाडेर फरार भएका थिए ।
घटनास्थलमा अर्ध चेत अवस्थामा रहेको युवतीलाई स्थानीयले फेला पारेपछि तत्कालै प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले युवतीलाई उद्धार गरी उपचारका लागि कोसी अस्पताल पठाएको प्रहरी नायब उपरीक्षक वेद प्रकाश जोशीले जानकारी दिए ।
तीनै जना अभियुक्तलाई पक्राउ गरी जिल्ला अदालत विराटनगरबाट म्याद थप गर्दै थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
यस्तो जघन्य घटनाले स्थानीय स्तरमा मात्र नभई देशव्यापी रूपमा पनि सुरक्षा र कानुनी कदमबारे गम्भीर बहस सुरु गराएको छ । पीडितलाई न्याय र दोषीलाई कडा कारबाही सुनिश्चित गर्न प्रहरी प्रशासनले आवश्यक कदम चाल्ने बताएको छ ।