वीरगञ्ज। त्रिवेणी ग्रुपको अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्स प्रालिले उत्पादन गर्ने ‘रानी’ ब्रान्डको सरसो तेलमा गुणस्तरको समस्या देखिएको छ। विशेष गरी, ‘कच्ची घानी सरसों तेल ग्रेड–१’ लेखिएको ब्याच नम्बर ०१ (प्याकेट ०८१–०४) को तेल चिसोमा घ्युजस्तै जम्ने समस्या आएको हो।
जानकारहरूका अनुसार, शुद्ध सरसो तेल चिसोमा राख्दा जस्तोसुकै अवस्थामा पनि जम्न सक्दैन। यद्यपि, ‘रानी’ ब्रान्डको तेल चिसोमा जम्नु भनेको जनावरको बोसो मिसावट भएको सङ्केत हो। यस तेलको स्रोत भारतको बरेलीबाट आयात गरिएको जनावरको बोसो मिश्रित तेल हो, जुन साबुन उत्पादनमा प्रयोग गरिन्छ। यो तेल खाना पकाउने तेलको रूपमा बिक्री गर्दा यस्तो समस्या देखा परेको हो।
खाद्य प्रविधि तथा गुण नियन्त्रक विभागका प्राविधिकहरूले शुद्ध सरसो तेल कुनै पनि अवस्थामा चिसोमा नजम्ने दाबी गरेका छन्। यदि तेल चिसोमा जमेको छ भने त्यसलाई अखाद्य मानिन्छ। यस प्रकारको तेलले मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने चेतावनी दिइएको छ। यसमा ट्रान्स फ्याट मिसावट भएको शंका गरिएको छ, जसले शरीरमा मन्द विषको असर पारी, हृदयाघात र मस्तिष्कघातको सम्भावना बढाउँछ।
अन्नपूर्णा भेजिटेबल प्रोडक्ट्सका सञ्चालक प्रभु दयाल कन्दोईले गल्ती भएको स्वीकार गर्दै उक्त ब्याचको तेल बजारबाट फिर्ता लिइएको बताएका छन्। तर, बजारमा अझै यस्तो तेल बिक्री भइरहको पाइयो। उपभोक्ताहरूलाई चिसोमा जम्ने तेलको उपभोग नगर्न आग्रह गरिएको छ। खाद्य सुरक्षा विशेषज्ञहरूले यसलाई स्वास्थ्यका लागि गम्भीर खतरा ठान्दै सतर्कता अपनाउन सुझाव दिएका छन्।