वीरगञ्ज। वीरगञ्ज नाकाबाट डिजेलको आयात घटेको छ भने पेट्रोलको आयातमा भने वृद्धि भएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा वीरगञ्ज भन्सार कार्यालयले डिजेलको आयातमा १.१३ प्रतिशतको घटतोक रहेको जानकारी दिएको छ।
यस अवधिमा, राजस्व सङ्कलनमा पनि ६.९१ प्रतिशतको गिरावट आएको छ। वर्ष २०८१/८२ को पाँच महिनामा ३२ अर्ब ३५ करोड २६ लाख ८८ हजार रुपैयाँको तीन लाख ६६ हजार ७१९ किलोलिटर डिजेल आयात भएको थियो। गत आवको यही अवधिमा भने ४० अर्ब ३६ करोड ५० लाख १५ हजार रुपैयाँको तीन लाख ७० हजार ९२० किलोलिटर डिजेल आयात भएको थियो।
यद्यपि, चालु आवको पाँच महिनामा डिजेल आयात घटे पनि पेट्रोलको आयात भने वृद्धि भएको छ। यस अवधिमा १६ अर्ब २१ करोड २ लाख २७ हजार रुपैयाँ पर्ने १ लाख ८८ हजार ३४५ किलोलिटर पेट्रोल आयात गरिएको छ। गत आवको यही अवधिमा १६ अर्ब ३९ करोड ८० लाख ६० हजार रुपैयाँको १ लाख ६२ हजार ४६ किलोलिटर पेट्रोल आयात भएको थियो। यसरी पेट्रोलको आयात १६.२३ प्रतिशत र राजस्व सङ्कलनमा १२.५२ प्रतिशतको वृद्धि भएको भन्सार कार्यालयले जनाएको छ।
मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनबाट डिजेल आयात हुने गरेको छ भने पेट्रोल ट्याङ्करबाट पैठारी हुँदै आएको छ। नेपाल आयल निगमले आगामी महिनाभित्रै पेट्रोल र मट्टितेल पाइपलाइनबाट ल्याउने तयारी गरेको जनाएको छ।