वीरगंज | सीरियामा पूर्वराष्ट्रपति बसर अल असद समर्थक समूहले नयाँ सरकारका अधिकारी लक्षित आत्मघाती आक्रमण गरेको छ।
विद्रोही समूहको आक्रमणमा १४ सुरक्षाकर्मी मारिएका छन्। आक्रमणमा अरु १० जना घाइते भएका छन्। असद समर्थक समूहले तार्तुस पोर्ट क्षेत्रमा आक्रमण गरेको हो। सीरियाको कुख्यात सैदनाया जेलसँग सम्बन्धित एक अधिकारीलाई गिरफ्तार गर्न गएका गृह मन्त्रालयका सुरक्षाकर्मीलाई लक्षित गरी आक्रमण भएको हो।
सीरियामा दुई हप्ताअघि विद्रोही समूह हयात अल–तहरीरले असदको शासन अन्त्य गराएको थियो।
यसैबीच, रुसले युक्रेनका ऊर्जा केन्द्रहरुलाई लक्षित गरी भीषण आक्रमण गरेको छ । युक्रेनमा क्रिसमस मनाइरहेका बेला रुसले १ सय ८४ वटा मिसाइल तथा ड्रोन आक्रमण गरेको हो।
रुसले स्थल, हवाई र जल क्षेत्रबाट प्रहार गर्ने क्षेप्यास्त्र तथा ड्रोन प्रयोग गरेर ऊर्जा केन्द्रहरुलाई निशाना बनाएको युक्रेनी सेनाको दाबी छ।
खार्किभ, कीभ, निप्रोपेट्रोभस्क, पोल्टाभा, जाइटोमिर, इभानो–फ्रान्किभस्क र जापोरिझियामा कयौँ मिसाइलहरु प्रहार भएको युक्रेनी अधिकारीले जनाएका छन्। रुसले प्रहार गरेका ५२ वटा ड्रोन भने युक्रेनी हवाई रक्षा प्रणाली निष्क्रिय बनाएको छ।
उता रुसको कुस्र्क क्षेत्रको लगोभ सहरमा युक्रेनी गोलाबारीमा चार जनाको मृत्यु भएको छ। आक्रमणमा अरु पाँच जना घाइते भएको उक्त क्षेत्रका कार्यवाहक गभर्नर अलेक्जेण्डर खिन्स्टाइनले बताउनुभएको छ।