वीरगञ्ज । वीरगञ्जका ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरूले पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्रमा मेडिकल कलेज र निजी स्वास्थ्य संस्थाहरूले नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सुविधामा भइरहेको अन्याय समाधानका लागि नेपाल सरकारको सचिवस्तरीय बैठकले २०८१ मंसिर २७ गते गरेको निर्णय अनुसार कदम चाल्न आग्रह गरिएको छ ।
नेपाल सरकारको निर्देशन अनुसार सबै मेडिकल कलेज र निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गरिएको जानकारी दिँदै, ती संस्थाहरूले निर्देशनको अवज्ञा गरेको भन्दै ज्ञापनपत्रमार्फत स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् ।
स्वास्थ्यकर्मीहरूले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशन कार्यान्वयन नभए आन्दोलन गर्न बाध्य हुने चेतावनी दिएका छन् । उनीहरूले आफ्ना मागहरू पूरा गर्न आवश्यक कदम चाल्न र मन्त्रालयको निर्देशनको पालना गराउन प्रजिअ अर्याललाई अनुरोध गरेका छन् ।
ज्ञापनपत्र बुझाउने क्रममा स्वास्थ्य मन्त्रालयको पत्रको प्रतिलिपि तथा सम्बन्धित कागजातहरू पनि प्रमुख जिल्ला अधिकारीलाई उपलब्ध गराइएको थियो ।