वीरगञ्ज | माइती नेपाल, पर्साले बिहीबार पत्रकार सम्मेलनको आयोजना गर्दै विगत २७ वर्षदेखि चेलीबेटी बेचबिखनविरुद्ध सक्रिय अभियान चलाइरहेको जानकारी दिएको छ। माइती नेपाल पर्साका सुपरभाइजर गोमा पौडेलका अनुसार, २०२४ मा २६५ जनाको उद्धार गरिएको छ। १३२ महिलालाई भारत जानबाट रोक्दै नेपाल फर्काइएको छ।
२०२४ का प्रमुख तथ्यांक अनुसार, उद्धार गरिएका व्यक्तिहरूमध्ये १८ वर्षमुनिका १२७ जना र १९ वर्षमाथिका १२८ जना छन्। यस वर्ष मधेस प्रदेशमा उच्च जोखिममा रहेका ४५ महिलाको उद्धार गरिएको छ। अन्य प्रदेशहरूमा बाग्मतीबाट ४२, सुदूरपश्चिमबाट १२, गण्डकी र लुम्बिनीबाट ९/९, कोशीबाट ५ र कर्णालीबाट २ जना उद्धार भएका छन्।
सुपरभाइजर पौडेलका अनुसार, २०२४ मा २६४ जनाको नेपालमा र १ जनाको भारतमा पुनर्मिलन गरिएको छ। यस वर्ष माइती नेपालले २१,३७२ सवारीसाधनको चेकजाँच, २५,६१५ जनालाई परामर्श, र २,०४१ पर्चा वितरण गरेको छ।
विशेष उद्धार घटनामा प्रेम सम्बन्धका कारण भागेका २९, अज्ञात गन्तव्यतर्फ लागेका २९, सामान खरिदको बहानामा १४, कामको बहानामा १७, र औषधि उपचारको बहानामा २ जना समावेश छन्।
तर, उद्धारमा समस्या भनेका छन् – तस्करको पहिचान नखुल्नु र भारतमा अदालती प्रक्रिया ढिलो हुनुका कारण उद्धारमा ढिलाइ हुने गरेको पौडेलले बताइन्। सीमावर्ती क्षेत्रका प्रहरीको बारम्बार सरुवा र समन्वयको कमीले पनि चुनौती सिर्जना गरेको छ।
पर्सा जिल्लामा माइती नेपालसहित समन्वय हात नेपाल, आशिष सामाजिक सेवा, र आफन्त नेपाल जस्ता चार संस्थाले सक्रियता जनाइरहेका छन्। तर, यी संस्थाबीच समन्वयको कमीले वास्तविक तथ्यांक सार्वजनिक गर्न चुनौती खडा गरेको छ।
माइती नेपाल पर्साको २७ वर्षको संघर्षले चेलीबेटी बेचबिखनविरुद्ध महत्वपूर्ण योगदान पुर्याएको भए पनि समन्वय र प्रक्रियागत सुधार आवश्यक रहेको छ।