वीरगञ्ज । नेपाल महिला यु–१९ एसिया कप क्रिकेट प्रतियोगितामा आज “सुपर चार”मा श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दै छ ।
मलेसियामा जारी प्रतियोगितामा टस जितेर नेपालले फिल्डिङ रोज्ने निर्णय गरेको छ र श्रीलङ्कालाई ब्याटिङको निम्तो दिएको छ । खेल नेपाली समय अनुसार बिहीबार बिहान पौने १२ बजे सुरु हुनेछ ।
नेपालले समूह चरणमा पाकिस्तानविरुद्ध ६ विकेटको शानदार जित निकाल्दै सुपर चारमा प्रवेश गरेको हो । त्यसपछि, समूह चरणको अन्तिम खेलमा भारतसँग अङ्क बाँडी ‘सुपर चार’मा पुग्न सफल भएको थियो ।
मङ्गलवार मलेसियाको बायोमास क्रिकेट मैदानमा खेलको सुरुवात भएको केही समयमै पानी परेको कारण भारत र नेपाल बिचको खेल रोकिएको थियो। अन्ततः दुवै टिमले १-१ अङ्क बाँडे ।
समूह ‘बी’ मा नेपाल र भारत समान ३ अङ्कसहित सुपर चारमा पुगेका हुन्, जहाँ भारत विजेता र नेपाल उपविजेता बनेको छ । यसै गरी, समूह ‘ए’ मा श्रीलङ्का, बङ्गलादेश र मलेसिया छन्। पाकिस्तान र मलेसिया प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब, नेपालले आज श्रीलङ्कासँग प्रतिस्पर्धा गर्दा शीर्ष दुई टिम फाइनल स्थानका लागि भिड्दै छ । अर्को सुपर चार खेलमा नेपालले शुक्रवार बङ्गलादेशसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल आइतबार बिहान खेलाइने छ ।